एनआरएन जर्मनीमा बिधान संशोधनको तयारी


जर्मनी  । गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीले वार्षिक साधारणसभाबाट विधान संशोधन गर्ने तयारी थालेको छ। यही जनवरी ३० तारिख डोर्टमुण्डमा हुने संघको पाँचौ साधारणसभाबाट संशोधन हुने गरी तयारी थालिएको हो। संघले आफ्ना सबै सदस्यहरुलाई सुझाव पेश गर्न समेत अनुरोध गरेको छ।

प्रत्येक क्षेत्रका एलसीसी संयोजकहरू समेत सदस्य रहने गरी गठन भएको बिधान संशोधन समितिमा,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका समेत सल्लाहकार रहेका पुष्प थापा संयोजक रहेका छन्। संयोजक थापाले जर्मनी निबासी गैर आबासीय नेपालीहरुलाई यही १५ तारिख भित्र सुझावहरु पेश गर्न आग्रह गरेका छन्।

बार्षिक साधारण सभामा संघको गतिशील बिधानलाई पनि केहि संशोधन गरी परिमार्जन गर्न सकिने ब्यबस्था भएकोले, गत बार्षिक साधारण सभाहरुमा जस्तै यस पटक पनि बिधान संशोधन समितिको गठन गर्दै संघले तयारी थालेको हो। गैर आबासीय नेपालीहरुको सुझाब संकलनद्वारा नै बिधानको साँझा दस्ताबेज तयार हुने अपेक्षा संघले राखेको छ।