जनसम्पर्क समिति यूरोपलाई बैधानिक बनाउँन जोडदार माग


– बसन्त रानाभाट
यूरोपमा बिभिन्न देशहरुबाट जम्मा भएका कांगेसीहरुले नेपाली जनसम्पर्क समिति यूरोपलाई औपचारिक रुपमा बैधानिक बनाउन जोडदार माग गरेका छन् । जर्मनीको फ्रयांकफोर्टमा युरोपस्तरीय एक बृहत भेलाको आयोजना गर्दै बिभिन्न देशका प्रतिनिधिहरुले नेपाली जनसम्पर्क समिति यूरोपलाई नेपाली कांग्रेस केन्द्रिय बिधानमा समेट्न पार्टी समक्ष जोड्दार माग गरेका हुन्। स्थापना भएको १० बर्ष पुगिसक्दा पनि अझै नेपाली जनसम्पर्क समिति यूरोपले बैधानिकता नपाए पछि यस्तो माग गरेका छन् ।

भेलाले आगामी दुई महिना भित्र तयार हुने गरी नारायण आचार्यको संयोजकत्वमा एक बिधान समिति समेत गठन गरेको छ। यस्तै नेपाली जनसम्पर्क समिति यूरोपको दोश्रो अधिवेसन नेपाली कांग्रेस केन्द्रिय समितिसँग समन्वय गरि आगामी ३१ जुलाई २०१७ भित्र गर्ने भेलाले सर्वसम्मत निर्णय गरेको छ। अधिवेसनको निर्वाचनका लागि इन्द्र पकवान क्षेत्रिलाई संयोजक समेत तोकिएको छ ।15492117_1675390242486589_23107774757690842_nदुई दिन सम्म जर्मनीको फ्रयांकफोर्टमा चलेको काँगेसको यूरोपस्तरीय भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेपाली जनसम्पर्क समिति यूरोपलाई बैधानिक बनाउन आफ्नो अहम भूमिका हुने भन्दै पहलकदमी गर्ने प्रतिबद्दता ब्यक्त गरे। नेता पाण्डेले बैधानिकता बनाउँने पहिलो काम गर्नु पर्ने बताउँदै हरेक जनसम्पर्क समितिमा एउटै खालको ढाँचा हुने गरी केन्द्रले बिधान लागू गर्नु पर्नेमा पनि जोड दिए।

नेपाली जनसम्पर्क समिति यूरोपको सोमबार सम्पन्न भेलाले आठ बुँदे घोषणा पत्र समेत जारी गरेको छ। नेपाली समूदायको बाक्लो उपस्थिती रहेको स्पेन र पोर्चुगलमा नेपाली दूतावास तत्काल स्थापना गर्न नेपाल सरकार समक्ष जोडदार माग समेत गरेको छ। जनसम्पर्क जनसम्पर्क समित यूरोपका सभापति दिल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भेलामा यूरोपका १२ देशका करिब ७० जना प्रतिनिधीहरु सहभागी थिए।