पर्यटन उद्योगमा लगानी बढ्दै, ३० बर्षे युवाको ३५ करोड लगानीमा रिसोर्ट


कृष्ण रानाभाट/पोखरा । देश राजनैतिक स्थिरता र संघीय ढाँचामा जान लागेको अबस्थामा पोखराका पर्यटन ब्यबसायी उत्साहित भएका छन् ।

पोखरा २६ सेदि हाईटमा जन्मेर १२/१३ बर्षको उमेरमा पर्यटनसंग नजिक रहेका ३० बर्षे युवा बिनोद तिमिल्सिनाले ३५ करोड लगानीमा इन्फिनिटी रिसोर्ट संचालनमा ल्याएका हुन्।

पोखराको मुख्य बजार क्षेत्र भन्दा थोरै टाढा शान्त र रमणीय ग्रामीण परिवेश नजिकै रहेको अत्याधुनिक सुविधा सम्पन्न सो ईन्फिनिटि रिसोर्टको नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बुधबार आयोजित एक कार्यक्रममा उद्घाटन गरेका थिए ।

रिसोर्ट उद्घाटन गर्दै उनले बैदेशिक रोजगारबाट प्राप्त आम्दानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएजा थिए।उनले विदेशमा कमाएर ल्याएको रकम अनुत्पादक क्षेत्रमा लगानी हुने गरेकाले देशमा रोजगारीको बाताबरण नबनेको पनि बताए ।

होटलका अधिकांश कोठाबाट फेवातालको दृष्य देख्न सकिन्छ । रिसोर्टमा झण्डै ६० जना क्षमताको सेमिनार हल र रेष्टुरेन्ट छ । रिसोर्ट हातामै झण्डै दुई सय जनाका लागि आउटडोर सेवा दिन सकिने सञ्चालक तिमिल्सिनाले बताए ।

१२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा स्विमिङ पुल र पार्किङको पनि सुबिधा छ । रिसोर्टबाट फेवाताल सहित, विश्वशान्ति स्तुपा, सराङकोटको दृष्य देख्न सकिन्छ । रिसोर्टमा २२ वटा डिलक्स र दुई स्विट सहित २४ रुम छन् । डिलक्स रुमलाई ७५ डलर अर्थात् ७ हजार पाँच सय र स्विट रुमलाई १५० डलर अर्थात् नेपाली १० हजार पाँच सय रुपैया शुल्क निर्धारण गरिएको छ ।

रिसोर्ट उद्घाटनको अबसरमा एक महिनासम्मका लागि रुम शुल्कमा ५० प्रतिशत छुट दिइने तिमिल्सिनाले बताए । उनका अनुसार नेपालीका लागि तोकिएको शुल्कमा ३५ प्रतिशत छुट दिइनेछ ।

दुई बर्ष लगाएर निर्माण गरिएको रिसोर्टमा २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । भविश्यमा वाल उद्यान, वालमैत्री पौडी पोखरी, थप सुविधायुक्त भिल्लाहरु सहित खेल मैदान, स्पा, योग केन्द्र लगायतका सुविधा थप गर्ने योजना रहेको संचालक तिमिल्सिनाले बताए ।