बेल्जियमका राजालाई राजदूत थापाले बुझाए ओहदाको प्रमाणपत्र


बार्सिलोना/ परराष्ट्र मन्त्रालयमा २७ बर्ष लामो कामको अनुभव बटुलेपछि राजदूतमा नियुक्त भएर आएका लोकबहादुर थापाले बुधबार बेल्जियमका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । रोयल प्यालेस ब्रुसेल्समा बुधबार आयोजित एक विशेष समारोहबीच राजदूत थापाले राजा फिलिप लेओपोल्द लुद्विग मरिआ समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

ओहदाको प्रमाणपत्र बुझ्ने क्रममा राजाले आफु युवराजधिराज हुदाँ सन् १९९८ मा नेपाल भ्रमणको सम्झना गरेको दूताबासद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । राजा फिलिपेले आँफुले भ्रमण गरे देखि हालसम्म नेपालको राजनीतिक,आर्थिक लगायत सामाजिक सांस्कृतिक परिदृश्यका क्षेत्रमा भएको परिवर्तन बारे पनि चासो राखेको विज्ञप्तिमा उल्लेख छ ।

ओहदा बुझाउने क्रममा राजदूत थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देश बिचको सम्बन्ध अझ प्रगाढ होस् भन्दै बेल्जियमका जनताको लागि प्रगति एवं समृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेका थिए ।

राजा फिलिपेले बेल्जियमका लागि राजदूत भएकोमा थापालाई बधाई दिदै दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ र सुमधुर बनाउन सक्षम हुने विश्वास व्यक्त गरेको दूतावासले विज्ञप्तिमा लेखेको छ ।

थापाले सन् १९९२ पछि बेल्जियमका लागि छैठौं राजदूतका रुपमा अहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उनले पछिल्लो क्रममा मन्त्रालयमा सह-सचिवको जिम्मेबारी सम्हालेका थिए। बेल्जियममा राजदूत नियुक्त हुनु अघि पासपोर्ट शाखामा महानिर्देशकको रुपमा कार्यरत थापाले यस अघि चिन,साउदी अरब र अष्ट्रेलियाको मिसनमा समेत अनुभव बटुलेका छन्। थापाले अष्ट्रेलियामा उप- नियोग प्रमुखको रुपमा काम गरेर थिए।

प्राय: राजनीतिक भागबण्डामा राजदूत नियुक्त भएर आउँने भए पनि परराष्ट्रमा करिव ३ दशक लामो अनुभव बटुलिसकेका थापाबाट बेल्जियमको नेपाली समुदायले भने ठुलो अपेक्षा राखेको छ।

यसअघि बेल्जियममा आयोजित स्वागत कार्यक्रममा नै राजदूत थापाले नेपालको बेल्जियम,नेदरल्याण्ड,लक्जम्बर्ग र युरोपीयन युनियनसँगको सम्बन्धलाई अझै बलियो बनाउँने प्रतिबद्दता जनाईसकेका छन् ।