बन्द उद्योग सञ्चालनका लागि सरकारले कदम चालेको छ : मन्त्री जोशी


राजाराम पौडेल,पोखरा-उद्योग मन्त्री नवीन्द्रराज जोशीले गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने वा नीजि क्षेत्रलाई दिने भन्ने बारेमा गृहकार्य भई रहेको बताएका छन् । पोखरामा आइतबार पत्रकारहरु सँग कुरा गर्दै मन्त्री जोशीले मासिक एक करोड रुपैयाँ घाटा भैरहेको उद्योगलाई सञ्चालनमा ल्याउन कि अन्यलाई सञ्चालन गर्ने भन्ने बारेमा छलफल अगाडी बढेको बताए ।

उनले कसरी व्यवस्थापन गर्ने भन्ने बारे सरकार गम्भीर बनेको बताउँदै करिब ३ सय कर्मचारीलाई विना काम राख्न नसकीने बताए । उनले बीरगंज चिनी कारखाना चलाउने सम्बन्धमा पनि गृहकार्य भएको बताए । उनले उद्योग धन्दाको विकास मार्फत युवाहरूलाई रोजगारी प्रदान गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए । उनले देशमा उद्योग व्यवसायको अभावका कारण रोजगारीको खोजीमा युवाहरू विदेशिनुपरेको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न उद्योगको स्थापना मार्फत उनीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्नु आवश्यक रहेको बताए ।

बन्द उद्योग सञ्चालनका लागि सरकारले कदम चालेको बताउँदै मन्त्री जोशीले साना घरेलु कुटिर उद्योगको विकास गर्दै ठूला उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए । “सरकारले बन्द भएका मध्ये चल्न सक्ने उद्योगलाई चलाउने र नचल्ने उद्योगलाई व्यवस्थापन गर्ने सम्बन्धमा सोच अघि बढाएको छ,” उनले भने,“ उद्योगको विकासका साथै खनिज पदार्थको सम्भाव्यताका लागि सरकारले गृहकार्य गरिरहेको छ ।”

हेटौंडा कपडा उद्योगलाई सञ्चालनमा ल्याएर पहिलो चरणमा नेपाली सेना तथा प्रहरीका लागि कपडा उपलब्ध गराउने लक्ष्य राखिएको बताउँदै उहाँले बुटवल धागो कारखानालाई नीजि क्षेत्रलाई लिजमा दिनेबारे छलफल भैरहेको उल्लेख गरे ।