युरोपमा देउँसी भैलो,एनआरएन दोस्रो पुस्तासम्म


– बसन्त रानाभाट

स्वदेशमा तिहारको रौँनकता बढिरहेको बेला प्रबासमा पनि छोईसकेको छ। बिभिन्न संघ सस्था देखि दोस्रो पुस्ताका एनआरएनहरु सम्मले देउँसी भैलो खेल्दै प्रबासमा पनि तिहार भित्राएका हुन्। युरोपमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरु देखि युवायुवतीसम्मले दौरा सुरुवाल,टोपी,गुन्युचोलीमा सजिदै मादालुको तालमा देउँसुरे भनिरहेका छन्। जर्मनीको फ्रायान्कफटमा शनिबार यस्तै दृश्य देखिएको थियो।

त्रिशुली न्यु जेनेरेशन जर्मनी नामको संस्थाबाट दोस्रो पुस्ताका एनआरएनहरु देउँसी भैलो खेल्दै रमाईलो गरे। यतै जन्मेर र हुर्केका भए पनि देउँसी भैलो भट्टाउँदा नेपाली पहिचान र संस्कृतिको कुनै कमी थिएन। जर्मनीको शहरमा पनि उनिहरु भन्दै थिए ,” ए भन मेरा भाई हो ….. देउँसीरे ! रातो बाटो….. देउँसीरे ! ए चिप्लो बाटो….. देउँसीरे ! ए लड्दै र पढ्दै….. देउँसीरे  !ए आयौ हामी ….. देउँसीरे ! हामी त्यसै ….. देउँसीरे ! आएका हैनौ….. देउँसीरे !  बली राजाले ….. देउँसीरे ! पठाएर आयौ ….. देउँसीरे ।”

 जर्मनी फ्रायान्कफटमा दोस्रो पुस्ताका एनआरएनहरु
जर्मनी फ्रायान्कफटमा दोस्रो पुस्ताका एनआरएनहरु

घर दैलो कार्यक्रम हुँदा गैर आबासीय नेपाली संघ(एनआरएनए) का प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष जीवा लामिछाने तथा केन्द्रिय उपाध्यक्ष कुमार पन्त पनि सहभागी थिए। एनआरएन अभियन्ताहरुले दोस्रो पुस्ताका गैर आबासीयहरुले आफ्नो संस्कृति र पहिचानका लागि भैलो खेलेको देख्दा खुलेर प्रंशसा गरे।

संघका उपाध्यक्ष पन्तले भने,”यस्ता कार्यक्रमहरुले नेपाली समाजमा सकारात्मक प्रभाव पारेको छ, यस्तो दृश्य देख्दा लाग्छ भाबि पुस्ताले पनि बिदेशमा नै रहेर पनि नेपाली कला र संस्कृतिको बारेमा राम्ररी बुझ्ने छन् भन्नेमा ढुक्क लागेको छ।”

डेनमार्कमा पनि देउँसीको रन्को
डेनमार्कमा पनि देउँसीको रन्को

यसैगरी डेनमार्कमा नेपाली महिलाहरुको संस्था क्रिएटिभ नेपलीज वुमन इन डेनमार्कले देउसी भैलोको आयोजना गर्यो । एउटा हल लिएर कार्यक्रम गरी सबैलाइ आमन्त्रण गरिएको थियो । यसको उद्धेश्य कला संस्कृतिको जगेर्ना गर्नु नै रहेको अध्यक्ष डा. गरिमा घलेले बताइन । महिला दिदिबहिनिहरु समयले भ्याएसम्म घर घरमा गएर पनि देउसी खेलेका थिए ।

आपतकालिन कोषका लागि पनि देउँसी भैलो

स्वदेशमा जस्तै देउँसी भैलोको रन्को बिदेशमा पनि कमि छैन। गैर आबासीय नेपाली संघ देखि प्रबासमा रहेका बिभिन्न संघ संस्थाहरुले आपतकालिन वा सामाजिक कोष बढाउँनका लागि देउँसी भैलो खेलिरहेका छन्। युरोपका बिभिन्न मुलुकहरुमा नेपाली समुदाय माँझ अहिले देउँसी भैलो कार्यक्रम चलिरहेको छ। ईच्छुक परिवारलाई अग्रिम जानकारी गराउँदै उनीहरुको दैलोमा नै पुगेर देउँसी खेल्ने प्रचलन बढेको पाईन्छ। कतिपय ठाउँमा भने एउटा हल भित्र नै सामुहिक रुपमा देउँसी खेल्ने पनि गरिन्छ।

एनआरएन फ्रान्सको देउँसी कार्यक्रम
एनआरएन फ्रान्सको देउँसी कार्यक्रम

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले यस पटक पनि आपतकालीन कोष बृद्धीको लागि देउँसी भैलो सुरुवात गरीसकेको छ। संघका पुर्ब अध्यक्ष निर्मल अर्यालले यस पटक गरी यो सातौ पटकको देउँसी भैलो कार्यक्रम रहेको जानकारी दिए। नेपाली दुताबास पेरिसबाट सुरु भएको देउँसी भैलो कार्यक्रम अझै जारी रहेको छ।

नेपाली जनसम्पर्क समिति डेनमार्कले यस बर्ष पनि देउँसी भैलो खेलिरहेको छ। सामाजिक तथा परोपकारी कोष बढाउँनका लागि देउँसी कार्यक्रमलाई निरन्तरता दिएको समितिका अध्यक्ष नवराज आचार्य “नविन” ले जानकारी दिए। यतिबेला कोपेनहेगनका नेपाली घर दैलोहरुमा देउँसी भैलोका गीतहरु गुन्जिरहेका छन्। यस्तै युरो नेपाल कलाकार संघ बेल्जियमले पनि देउँसी भैलो बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।