मलेसियामा मृत्युदण्ड पाउने नेपाली कामदार बढ्दै(छापाबाट)


वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ३ नेपाली कामदारलाई विभिन्न अपराधमा संलग्न रहेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको फैसला गरेको छ । विभिन्न अपराधमा संलग्न भएको भन्दै मलेसियामा थप ७ जना नेपालीलाई मृत्युदण्डको फैसला हुने सम्भावना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले दिएको जानकारीअनुसार लागुऔषधको कारोबारमा पक्राउ परेका नुवाकोटका हरिबहादुर घलेलाई मलेसियाको सर्वाेच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

५ वर्षअघि नै मृत्युदण्डको फैसला सुनाइए पनि हालसम्म सजाय भएको छैन । घलेलाई बचाउनका लागि दूतावासले कूटनीतिक पहल गरिरहेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए । त्यस्तै, हत्या आरोपमा पक्राउ परेका सुरजबहादुर सुनार र सुवीर गोलेलाई उच्च अदालतले मृत्युदण्डको फैसला गरिसकेको छ । उनीहरूको विषयमा सर्वाेच्च अदालतमा फैसला हुन भने बाँकी छ ।

मलेसियामा हत्या आरोपमा पक्राउ परेका रुपेशकुमार कापर, प्रविनकुमार शर्मा, सुरेन्द्र मुखिया, अमर गुरुङ, अशोक लामा, सुजन श्रेष्ठ र लागू औषधको अपराधमा राजकुमार शाहका विषयमा पनि मृत्युदण्डको माग गर्दै परेको मुद्दामा अदालतमा बहस सकिएको दूतावासले जनाएको छ ।

मलेसियामा १ जनालाई सर्वाेच्च अदालतले र २ जनालाई उच्च अदालतले मृत्युदण्डको फैसला गरेको बस्न्यातले बताए । ‘अरू ७ जनाका विषयमा पनि विभिन्न स्थानका उच्च अदालतमा मृत्युदण्डकै माग राखेर हालिएका मुद्दामा बहस सकिएको छ,’ उनले भने । यसअघि उस्तै प्रकृतिको अपराधमा मृत्युदण्ड दिएको हुनाले बहस गर्ने वकिलले उनीहरूलाई पनि मृत्युदण्डकै सजाय हुन सक्ने बताएको बस्न्यातले जानकारी दिए ।

अभियुक्तहरूको विषयमा बहस गर्न अदालतमा नेपाली ४ लाखदेखि १० लाख रुपैयाँसम्म अदातलमा धरौटी राख्नुपर्ने भएकाले दूतावासले त्यस विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको दूतावासले जनाएको छ ।

दूतावासले एकजना वकिल राखेर मलेसियाको जेलमा रहेका नेपालीहरूका बारेमा अध्ययन गरेपछि गम्भीर अपराधमा रहेका नेपालीहरूको अवस्था पत्ता लागेको हो । दूतावासका प्रथम सचिव उत्तम शाहीले दूतावासले वकिल राखेर जेलमा रहेका नेपाली कामदारको अध्ययन गरेपछि मृत्युदण्ड पाएका र पाउने तयारीमा रहेका कामदारका बारेमा जानकारी भएको बताए ।

नेपालीलाई मृत्युदण्डको सजायबाट बचाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने शाहीले बताए । ‘मलेसियामा ब्लडमनीको व्यवस्था नभएकाले राजाले माफी दिएमा मात्र मृत्युदण्ड रोकिन सक्छ, त्यसो भएकाले सरकारले पहल गर्नुपर्छ,’ उनले भने ।

दूतावासले गरेको अध्ययनअनुसार मलेसियाको जेलमा २ सय ७० जना नेपाली कामदार छन् । त्यस्तै, २ सय ५८ जना कामदार घर फीर्ति केन्द्रमा रहेका छन् । सन् २०१४ जुलाईदेखि २०१६ जुलाईभित्र घर फीर्ति केन्द्रमा रहेका ६ सय १२ जना नेपाली कामदार दूतावासको समन्वयमा विभिन्न संघसंस्थाको सहयोगमा नेपाल फर्केका छन् । मलेसियामा कामका सिलसिलामा मृत्यु भएका ७ जना नेपाली कामदारको शव मलेसियाको विभिन्न अस्पतालमा रहेको दूतावासले जनाएको छ ।

कामदारले मलेसियाको कानुन नबुझ्दा समस्या
डा. नीरञ्जनमानसिंह बस्न्यात
मलेसियाका लागि नेपाली राजदूत

मलेसियाको नियम–कानुन ज्यादै कडा भए पनि धेरै नेपाली यसबाट अनभिज्ञ रहेको पाइन्छ । मलेसियामा लागुऔषध बोकेर हिँडे पनि मृत्युदण्ड दिन सक्छ । लागुऔषधको प्रयोग र कारोबार यहाँ गम्भीर अपराध मानिन्छ । अहिले पक्राउ परेकामध्ये अधिकांश हत्या र लागुऔषधको अपराधका आरोपी छन् ।

कम्पनीमा सहकर्मी कामदारसँगको कुटपिटपछि हत्या, कम्पनीको सुपभाइजरदेखि कम्पनी मालिकसम्मलाई हातपात र हत्या गरेको अभियोग पनि छ ।

नेपालबाट आउनुअघि नै मलेसियाको नियम–कानुन बुझेर आउनु आवश्यक छ । अरूको मुलुकमा आएर कुनै पनि प्रकारको अपराध गर्नुहुँदैन । तर, नेपालमा कामदारलाई प्रभावकारी अभिमुखीकरण नगर्दा  कामदार अपराधमा संलग्न भएको पाइएको छ । लागुऔषधलाई सामान्य रूपमा लिने भएकाले पनि मृत्युदण्डको सजाय बढिरहेको हो ।

हत्या त झन् जघन्य अपराध भयो । यहाँ ब्लडमनीको व्यवस्था नभएकाले सजाय भएकालाई बचाउन साह्रै मुस्किल हुन्छ । कुनै मुद्दामा जेलमा रहेका अभियुक्तका विषयमा अदालतमा सुनवाइ गर्नका लागि पनि ४ देखि १० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्छ । यो झन्झटिलो र खर्चिलो पनि हुन्छ ।

दूतावासले यस्ता विषयमा जनचेतना जगाउने काम गर्दै आएको छ । दूतावासले मलेसियामा नेपाली भाषामा १ घन्टा सूचनामूलक रेडियो कार्यक्रम सञ्चालन गरेको र आपत्–विपत्का वेला २४ घन्टे हटलाइनको व्यवस्था गरेको छ ।