मुखर्जीको नेपाल भ्रमण विशेष गुडविल भ्रमण : भारत (छापाबाट)


भारतले आफ्ना राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि गर्ने नेपालको तीनदिने राजकीय भ्रमण विशेष गुडविल भ्रमण हुने बताएको छ । मुखर्जीको भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने सुधाकर दलेलाले भ्रमणले दुईपक्षीय सम्बन्धलाई झन् सुदृढ बनाउने बताए ।

मुखर्जीको नेपाल भ्रमणमा हुने सम्भावित सम्झौताबारे सोधिएको जिज्ञासामा दलेलाले भारतको प्राथमिकता नयाँ सम्झौता गर्नेभन्दा पनि पुरानाको कार्यान्वयन रहेको बताए । ‘दुई वर्षमा नेपाल र भारतबीच व्यापार, पारवहन, विकास परियोजनालगायत थुप्रै क्षेत्रमा सम्झौता भएका छन्, हाम्रो जोड ती परियोजनाको कार्यान्वयनमा रहनेछ,’ उनले भने ।

बिहीबार भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतको संयुक्त कमिसनको बैठकमा पनि रोकिएका परियोजनाहरूलाई अगाडि बढाउने  सहमति भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

त्यसैका लागि केही समय अगाडि दुवै देशका प्रतिनिधि संलग्न अनुगमन संयन्त्र बनाउने सहमति भइसकेको छ, जसको बैठक एक महिनाभित्र हुनेछ । दलेलाले आफूहरूले परियोजनाको सम्बन्धमा स्थानीय स्तरमा नै केही उपलब्धि हेर्न चाहेको समेत बताए ।

मुखर्जीले नेपाल भ्रमणको समयमा संविधान संशोधन र मधेसवादी दलहरूको मागका सम्बन्धमा नेपाली नेताहरूसँग छलफल गर्छन् कि गर्दैनन् भनी सोधिएको प्रश्नमा उनले घुमाउरो पारामा सबै विषयमा कुराकानी हुने बताए ।

‘विगतमा दुई देशबीच उच्च तहमा भएको भेटघाटको समयमा नेपाल सरकारले आफ्नो प्राथमिकता र पहल समाजका सबै क्षेत्रलाई समेटेर सबै संवैधानिक विषयहरू हल गर्ने रहेको बताएको छ । भारतले यो प्राथमिकता र पहलको स्वागत गरेको छ र यसले नै नेपाललाई शान्ति र समृद्धिको बाटोमा लैजाने विश्वास हाम्रो छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा मुखर्जीले राष्ट्रपति र प्रधानमन्त्रीका अलावा मुख्य राजनीतिक दल तथा मधेसवादी दलका नेताहरूलाई समेत भेटघाट गर्ने जानकारी दिइएको छ । भारतले मधेसवादी दलहरूको माग सम्बोधनका लागि भएको ढिलाइप्रति यस अगाडि नै राजनीतिक नेतृत्वमार्फत असन्तुष्टि व्यक्त गरिसकेको छ ।

नेपालका राजनीतिक दल तथा नेताहरूसँग राम्रो सम्बन्ध भएका मानिने मुखर्जीले राजनीतिक विषयमा पनि औपचारिक तथा अनौपचारिक तहमा कुराकानी गर्ने भारतीय अधिकारीहरू बताउँछन् ।

झन्डै अठार वर्षपछि भारतका राष्ट्रपतिले नेपाल भ्रमण गर्दै छन् । यस अगाडि सन् १९९७ मा तत्कालीन राष्ट्रपति के आर नारायणनले नेपाल भ्रमण गरेका थिए । भारतले नेपालमा गणतन्त्र स्थापना र संविधान निर्माणपछि नेपालको भ्रमण गर्ने उच्च पाहुना मुखर्जी हुनेसमेत बताएको छ । सत्र वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्ष अगाडि नेपाल भ्रमण गरेका थिए ।

पत्रकार सम्मेलनमा भूकम्पपीडितका लागि भारतले उपलब्ध गराउने सहयोगका सम्बन्धमा नेपालले परियोजनाहरू पठाउने क्रम जारी रहेको र विगतमा केही ढिलाइ भएको जानकारी गराइएको थियो । दलेलाले नेपालबाट प्राप्त केही परियोजना कार्यान्वयनका लागि संयन्त्र बनाउने पहल भइरहेको समेत बताए ।

सार्क सम्मेलन स्थगनबारे अध्यक्ष राष्ट्र नेपालसँग मुखर्जीको भ्रमणको समयमा केही कुराकानी हुन्छ कि भनेर सोधिएको प्रश्नमा उनले सबै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा कुराकानी हुने जानकारी दिए । उनले सार्कबाहेक नेपालसँग बीबीआईएन र बिमस्टेकमा पनि सहकार्य भइरहेको बताए । मुखर्जीको भ्रमणको समयमा नेपालमा नागरिक अभिनन्दन गरिनेछ भने उनले समाजका विभिन्न तह र तत्काका व्यक्तिहरूसँग समेत भेटघाट गर्नेछन् ।

काठमाडौं विश्वविद्यालयले मुखर्जीलाई विद्यावारिधिले सम्मान गर्नेछ । त्यसैगरी मुखर्जीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले रिसेप्सन आयोजना गर्नेछन् । पोखरा भ्रमणको समयमा मुखर्जीले त्यहाँका भूपू सैनिकसँग अन्तक्र्रिया गर्नेछन् । मुखर्जी जनकपुर पनि जाने कार्यक्रम छ ।