के हुँदै छ मोर्चासँगको वार्ता ?(छापाबाट)


संविधान संशोधनबारे सरकार, मधेसी मोर्चा र संघीय गठबन्धनबीच केही दिनभित्रै औपचारिक वार्ता हुने भएको छ । संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्ने गरी औपचारिक छलफल हुन लागेको हो ।

‘एक–दुई दिनभित्रै औपचारिक छलफल गर्ने भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ, सायद अब गम्भीर छलफल होला,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले  भने । उनका अनुसार केही निश्चित बुँदामा सरकारसँग अनौपचारिक रूपमा पटकपटक छलफल भएका छन् ।

सरकार र असन्तुष्ट पक्ष अनौपचारिक छलफलमा मुख्य चार विषय सहमतिनजिक पुगेका छन् । त्यसकै आधारमा औपचारिक छलफल हुन लागेको नेताहरूले बताएका छन् । तर, सहमतिको प्रयासका लागि सरकार पक्षबाट गम्भीरतापूर्वक छलफल हुन नसकेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । ‘केही अनौपचारिक छलफल भएका छन्, तर संशोधन प्रस्ताव तयार गर्ने गरी छलफल हुन सकेको छैन,’ यादवले भने ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

छिट्टै वार्ता गर्ने प्रचण्ड र देउवाबीच सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा देउवाको आसन्न भारत भ्रमण र मधेसी मोर्चासँग वार्ता गरेर संविधान संशोधन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।
दुई नेताबीच मधेसी मोर्चासँग पनि केही दिनभित्रै वार्ता गर्ने सहमति भएको छ । देउवा भारत भ्रमणमा जानुअघि मोर्चासँग छलफल गर्ने तयारी छ । देउवा १९ कात्तिकमा भारत भ्रमणमा जादै छन् ।

सहमतिनजिक पुगेका विषय
प्रदेशको सिमाना :
५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँचीलाई झिकेर ४ र ६ प्रदेशमा राख्ने विकल्पमा मोर्चा सहमत देखिएको छ । विवादित जिल्ला कैलाली, कन्चनपुर, झापा, मोरङ, र सुनसरीलाई संघीय आयोगमार्फत टुंगो लगाउने पक्षमा प्रमुख दल छन् । उक्त रणनीतिमा मोर्चा र गठबन्धन पनि सहमत छन् । प्रधानमन्त्री प्रचण्डले बुुुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग यही विषयमा छलफल गरेका थिए । तर, कांग्रेस, एमाले र माओवादीका ५ नम्बर प्रदेशका नेताहरू भने पहाडी जिल्ला निकाल्न नहुने अडानमा छन् ।

भाषा :  सरकार बहुभाषिक नीति अपनाउन सहमत भइसकेको छ । भाषाहरूको सूची संविधानको अनुसूचीमा उल्लेख गर्नुपर्ने पक्षमा मोर्चा र गठबन्धन छन् । सरकारले गठन गरेको भाषा आयोगको प्रतिवेदन दिएपछि अनुसूची तयार गर्ने गरी मोर्चालाई सहमत गराएको छ ।

नागरिकता : वैवाहिक अंगीकृत नागरिकताको विषयमा प्रचलित कानुनअनुसार प्रदान गर्नेबारेमा सरकार र मोर्चाका नेताहरू सहमत छन् । तर, अंगीकृत नागरिकता लिएकालाई कुन–कुन उच्च तहसम्म नियुक्त हुन योग्य ठानिने भन्नेमा भने विवाद कायमै छ ।

राष्ट्रिय सभा : राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट आठजना प्रतिनिधित्व रहने वर्तमान व्यवस्थालाई हटाएर जनसंख्याका आधारमा प्रतिनिधित्व गराउनुपर्ने मोर्चा र गठबन्धनको माग छ । तीन दलले पाँचजनासम्म प्रदेशबाट गर्ने र बाँकी जनसंख्याका आधारमा हुने प्रस्ताव गरेका छन्, तर मोर्चाले दुईजना मात्रै हुनुपर्ने माग गरिरहेको छ । यसमा केही समयअघि तीनजनामा सहमति भएको चर्चा चलेको थियो ।

मधेसी मोर्चाका दुई नयाँ मुद्दा
१) प्रदेशमातहत स्थानीय तह
मोर्चा नयाँ संविधानले परिकल्पना गरेको प्रदेश र स्थानीय तहको समानान्तर हैसियत संशोधन गर्नुपर्ने पक्षमा छ । सिद्धान्ततः प्रदेशमातहत स्थानीय तह हुने व्यवस्था नगरे तराईमा निर्वाचन हुन नदिने अडान मोर्चाले राखेको छ ।

२) पहिला संघीय निर्वाचन
चैतमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी छ । तर, मोर्चा भने प्रदेशमातहत स्थानीय तह हुने व्यवस्था नगरेसम्म प्रदेश र स्थानीय तहको निर्वाचन गर्न नहुने अडानमा छ । पहिले संसद्को निर्वाचन गर्नुपर्ने पनि मोर्चाको माग छ ।

विवाद साँघुरिएका छन्
विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा गृहमन्त्री
प्रदेशको सिमाना, भाषा, नागरिकता र राष्ट्रिय सभा गठनजस्ता प्रमुख चार विषयमा मधेसी दलसँग अनौपचारिक छलफल भइरहेको छ । यी विषयमा यसअघिका विवाद साँघुरिएर हामी नजिक–नजिक हुँदै आएका छौँ । संविधान संशोधनबारे विवाद साँघुरिँदै गएपछि अब औपचारिक छलफलको तयारीमा छौँ । दिन नै त नतोकौँ, अब केही दिनमै मधेसी दलसँग औपचारिक छलफल हुन्छ ।