ब्रिक्स सम्मेलन बाट फर्किए प्रधानमन्त्री दाहाल, भ्रमण अत्यन्तै फलदायी भएको दाबी


काठमाण्डौ – भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा सहभागी भएर सोमबार नेपाल फर्केका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण अत्यन्तै उपयोगी भएको बताएका छन् । त्रिभुवन विमानस्थलमा ओर्लेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमण फलदायी भएको बताए।

प्रधानमन्त्री प्रचण्ड, चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच लिडर लाउन्जमा संयुक्त भेट भएको थियो । सम्मेलनमा सहभागी भएर सोमबार अपरान्ह स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यो भेटलाई दुर्लभ र सुखद संयोग भएको बताएका छन्। 

उनले आफूले चिनियाँ राष्ट्रपति पिङसँग यस्तै छुट्टै भेटेर कुरा गर्न चाहेको बताए । उनले भने, ‘म उहाँसँग दुइपक्षीय कुरा गर्न चाहन्थेँ । वान टु वान कुरा गर्न चाहन्थेँ । प्रतिक्षा कक्षमा यो मौका मिल्यो । मैले २० मिनेट जति कुरा गरेँ ।’

भेटमा उनले चिनियाँ राष्ट्रपतिसँग नेपाल भ्रमण र नेपालको विकास, संविधान लगायतको विषयमा कुरा भएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘यो भेटमा ह्रृदय खोलेर कुरा भयो । जुन गौरवान्वित कुरा हो। मैले यस्तो पनि हुन्छ होला भनेर त अपेक्षा नै गरेको थिइनँ । यो भेट पूर्वनिर्धारित होइन । अचानक भएको हो।’

केही समयपछि दुईजनाबीच कुरा भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आइपुगेका उनले बताए । उनले भने, ‘हामी कुरा गरिरहेका थियौं । यत्तिकैमा मोदी जी आइपुग्नु भयो । हामीले यसलाई अस्वभाविक पनि लिएनौं ।’

तीन जनाको भेटमा त्रिपक्षीय कुरा भएको प्रधानमन्त्री दाहालले दाबी गरे । उनले त्रिपक्षीय साोझेदारको विषयमा कुरा भएको र नेपाल सानो देश भएकोले नेपाललाई सहयोग गर्नुपर्छ भनेर दुवै नेताले भनेको पनि दाहालले सुनाए । उनले भने, ‘मैले पहिले नै त्रिपक्षीय कुरा गर्न चाहेको थिएँ । तर मौका मिलेको थिएन । उक्त बेला मौका मिल्यो र मैले त्रिपक्षीय प्रस्ताव राखेँ । सबै सकारात्मक हुनु भयो । यो भेट मेरो लागि मत्रै होइन पुरै नेपालको लागि पनि अत्यन्तै सकारात्मक हो ।’

साथै प्रधानमन्त्री दाहालले आफूले चिनियाँ राष्ट्रपतिलाई ५ मिनेट कुराएको भन्ने समाचार गलत भएको प्रष्ट्याए । समाचारमा आएजस्तो यो भ्रमणले नेपालीको शीर झुकेको नभइ ठाडो भएको दाबी गर्दै यो भ्रमण निकै नै फलदायी भएको बताएका छन्।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा अन्य देशका राष्ट्रप्रमुखहरुसँग पनि भेट भएको र नेपालकोबारे कुरा भएकोबताउँदै मिडियाले पनि समाचार लेख्दा नकारात्मक मात्र नभई सकारात्मक भएर लेख्नु पर्ने बताए।