लोकमानको घरमा म्याद टाँस्न दीइएन, सर्वोच्चको टोलि त्यसै फर्कियो


काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्न गएको सर्वोच्च अदालतको तामेल्दारको टोलीले सोमबार पनि म्याद तामेल गर्न सकेन । अवरोधका कारण म्याद तामेल गर्न नसकेपछि उनीहरु वडा सचिव सहितको मुचुल्का बनाई सर्वोच्च अदालत फर्केको छ । दुई पटकको प्रयासका बाबजुद केही व्यक्तिहरुले अवरोध गरेपछि म्याद टास्न टोली असफल भएको हो ।

टोलीले सोमबार बिहान वडा कार्यालयमा मुचुल्का बनाएर म्याद टाँस्न हिँडेको थियो । सर्वोच्च अदालतका अनुसार कार्कीको घरमा सूचना टाँस्न नपाए आज सार्वजनिक स्थानमा नै भएपनि सूचना टाँस्ने तयारीका साथ टोलीले वडा कार्यालयमा मुचुल्का बनाएर म्याद टाँस्न गएको थियो।

सर्वोच्चको टोली हिँडेपछि आफूलाई वडा नागरिक मञ्चका पदाधिकारी बताउने केही युवा तथा सामसङ कम्पनीको कर्मचारी बताउने समूहले आफूहरुले घर भाडामा लिएको बताउँदै म्याद टाँस्न रोकेको थियो। कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा बहसका लागि बोलाउँदा आउन अस्वीकार गरेपछि घरमा म्याद टास्ने तयारी गरिएको हो । तर, पटक पटक प्रयास गर्दा पनि म्याद टास्न अवरोध हुँदै आएको छ ।

अख्तियार प्रमुख कार्की देशबाहिर रहेकाले अदालतमा उपस्थितिका लागि उनको पुरानो बानेश्वरमा रहेको घरमा म्याद टाँस्न सर्वोच्चले तामेलदारलाई खटाएको थियो। यसअघि पनि म्याद टाँस्न सर्वोच्चले पठाएका तामेलदार म्याद नटाँसी दुई हप्तासम्म सर्वोच्चको सम्पर्कबाहिर बसेपछि अदालतले सोमबार अर्का दुई तामेलदारलाई म्याद टाँस्न पठाएको थियो।