सरकारले चाँडै पूरक बजेट ल्याउँछ : अर्थमन्त्री महरा


रोल्पा– सरकारले चाँडै पूरक बजेट ल्याउने तयारी गरी रहेको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताएका छन । प्रेस सेन्टर रोल्पाले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा महराले यस्तो बताएका हुन । उनले भने, ‘पूरक बजेट रणनीतिक योजना पनि हो । राजनीतिक सहमति र स्रोतका आधारमा यो ल्याउन सकिन्छ । हामीसँग स्रोत पनि छ । हामी पूरक बजेट ल्याउने तयारीमा छौं।’

पूरक बजेटमा रोल्पा देखि प्यूठान, रुकुम, बाग्लुङ र सल्यान जोड्ने रणनीतिक महत्वका सडकलाई पनि उच्च प्राथमिकता दिने सोच रहेको मन्त्री महराले खुलासा गरे । मन्त्री महराले अहिलेको सरकारका चार प्राथमिकता रहेको बताए । संविधान कार्यान्वयन, भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलाई प्राथमिकता, संविधान संशोधन, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको काममा विशेष ध्यान दिने अहिलेको सरकारको प्राथमिकता रहेको उनले टिप्पणी गरे ।

स्थानीय तहको पुनः संरचनासँगै स्थानिय तहको चुनाव गरिने मन्त्री महराले दाबी गरे । सरकारले भित्रभित्रै चुनावको तयारी गरी रहेको पनि उनले बताए । संविधान कार्यान्वयनकै लागि मौजुदा ऐन, कानुनको निर्माण गर्ने काम भईरहेको उनको भनाई थियो ।