एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल कात्तिक २० गते टिमोर लेस्टेसँग खेल्ने


काठमाडौँ- मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका एसियाली फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक गरेको छ ।यही कात्तिक १७ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा ब्रुनाई र टिमोर लेस्टेसमेत छन् । त्यसैगरी, समूह ‘बी’मा श्रीलङ्का, मकाउ, मङ्गोलिया र लाओस रहेका छन् ।

नेपालले पहिलो खेल कात्तिक २० गते टिमोर लेस्टेसँग तथा दोस्रो खेल कात्तिक २३ गते ब्रुनाईसँग खेल्नेछ । समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक ३० गते हुनेछ । एएफसीले सन् २०१८ को विश्वकप र सन् २०१९ को एसिया कपबाट बाहिरिएका टोलीबीच पहिलो पटक एएफसी सोलिडारिटी कप आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ३० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा राखेको छ ।

राष्ट्रिय टोलीका लागि प्रारम्भिक छनोटमा परेका खेलाडीहरुमाः

गोलकिपरःबिकेश कुथु, किरण कुमार लिम्बु,  बिशाल श्रेष्ठ र एलन न्यौपाने

डिफेण्डरःबिराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, जीतेन्द्र कार्की, रञ्जीत धिमाल, कमल श्रेष्ठ, दिनेश राजवंशी, बिकास तामाङ, देवेन्द्र तामाङ, दीपक गुरुङ र मानबहादुर तामाङ

मिडफिल्डरःप्रकाश बुढाथोकी, हेमन गुरुङ, बिक्रम लामा, राजेन्द्र रावल, बिशाल राई, सुजल श्रेष्ठ र अञ्जन विष्ट

स्ट्राइकरःअनिल गुरुङ, भरत खवास, बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुमन लामा, रञ्जन विष्ट र सुनिल बाल छन् ।

विश्वकप छनोटबाट बाहिरिएका एसियाली टोलीले लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने स्थिति आएपछि एएफसीले सोलिडारिटी कप आयोजना गरेको हो ।