सर्वोच्चका कर्मचारी नै गायव भए पछि दोश्रो दिन पनि लोकमान निवासमा सूचना टाँसिएन


काठमाडाैं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा अदालतमा हाजिर हुने सूचना पत्र बुझाउने सर्वोच्चका कर्मचारी शम्भु खत्री नै सम्पर्क बिहिन भए पछि लोकमान निवासमा दोश्रो दिन पनि सूचना टाँस्न असफल भएको छ।  

बानेश्वर हाइट स्थित कार्कीको घरमा बुधबार सूचना टाँस्न गएको सर्वोच्चको टोली कार्कीको घर भाडामा लगाइएको र परिवारका सदस्य कोही पनि नबस्ने जानकारी पाएपछि सूचना नटाँसी फर्केको थियो। घरमा म्यादको सूचना टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडासचिवलाई रोहवर राख्नुपर्ने कानुनी व्यवस्था भएकाले सर्वोच्च टोली काठमाण्डौ वडा नम्बर १० का सचिव सरिता राई लाई भेट्न पुगेको थियो तर बुधवार मध्य दिन सम्म पनि सचिव राई कार्यालयमा उपस्थित नभए पछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको हो । सर्वाेच्च अदालत नियमावली र मुलुकी ऐनमा सम्बन्धित व्यक्ति वा उसको स्थायी ठेगानामा म्याद टाँस्नु पर्ने व्यवस्थाका कारण सर्वोच्चको कार्की निवासमा गएको थियो। 

कार्की अदालतको आदेश आएको समयदेखि विदेश भ्रमणमा रहेका कारण म्याद तामेल हुन सकेको थिएन । लामो समयदेखि म्याद तामेल हुन नसकेको र नजिकै दसैं बिदा आएपछि सर्वोच्चले ताकेता गरेको हो । कार्की विरुद्धको मुद्दा पुनरवलोकनको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।यस्तो सूचना सकेसम्म व्यक्तिलाई बुझाउनुपर्ने, व्यक्ति नभेटिए उसको घरको मानिसलाई बुझाउन मिल्ने, उनीहरु पनि नभेटिए सबैले देख्ने गरी घर या डेराको ढोकामा टाँस गर्न मिल्छ। यसरी म्याद टाँस्दा वडा कार्यालयका सचिवको रोहवरमा टाँस्नुपर्छ। मुलुकी ऐन अदालती बन्दोबस्तको ११० नम्बरमा तामेलीसम्बन्धी व्यवस्था छ।

लोकमानको नियुक्तिविरुद्ध रिट हाल्ने अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार अदालतले राष्ट्रिय पत्रिकामा वा टेलिभिजनमा सूचना प्रसारण गरेर लोकमानलाई सूचना बुझाउन सक्छ। यसरी सूचना जारी भए त्यसको ४५ दिनभित्र अदालतमा लोकमान आफैं वा वारेसमार्फत उपस्थित हुनुपर्ने छ।