डा. केसीको स्वास्थ्य बिग्रदै, मंगलबार देखि शिक्षण अस्पतालमा इमर्जेन्सी सेवा मात्रै


काठमाण्डौ, त्रिवि शिक्षण अस्पतालमा पाँच दिनदेखि नवौं पटक अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रि‌दै गएपछि उनीसँगैको कोठामा सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको जनाईएको छ।  

एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि कुनै पनि समय हुन सक्ने सम्भावित स्वास्थ्य सम्बन्धि जोखिमलाई दृष्टिगत गरी तयारी अवस्थामा राखिएको त्रिवि शिक्षण अस्पताल आइसियुका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्यले बताएका छन । 

मुटूको चाल गडबड भएर मुटूले काम गर्न छोड्यो भने डिसि सक मेसिनद्वारा झटा दिएर मुटू चलाइन्छ भने भेन्टिलेटर कृत्रिम रुपमा स्वासप्रसाव गराउने आइसियुको अत्यावश्यक यन्त्र हो । रगतमा अक्सिजनको स्तर ९० भन्दा माथि हुनु पर्नेमा डा.केसीमा ७० सम्म झरेको देखिएको छ । सातौं अनसनताका देखिएको मुटूको समस्या (भेन्ट्रिकुलर ट्रैकिकार्डिया) लाई प्रबन्धन गर्नु हालको चुनौति भएको छ । लामो समयसम्म उक्त समस्या देखिए मुटूले काम गर्न छोड्न सक्ने स्थिति (कार्डियाक एरेष्ट) समेत देखिन सक्छ । 

केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ भने उनको पिसाबमा एसिटोन देखिइ सकेको छ । उनलाई मांसपेशी र छाती दुख्ने समस्यासमेत देखिएको छ । छातीको दुखाइ धेरै भएपछि शुक्रबारदेखी नै उनलाई अक्सिजन दिन थालिएको छ । यसै बीच डा.गोविन्द केसीको अनसनको समर्थनमा शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले मंगलबारदेखि इमर्जेन्सी र शल्यक्रियाबाहेकका कुनै पनि पठनपाठनको कार्यमा सहभागि नहुने बताएका छन् । नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले डा.केसीको मागप्रति सम्वद्घ निकायले चासो नदेखाएपछि थप संघर्षको कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको जनाएको छ । एसोसिएसनका अध्यक्ष लिजन महर्जनले केसीको स्वास्थ्य स्थिति खस्कदै गएकोले उनको जीवन रक्षा गर्न सम्वद्घ सवै पक्ष संग अपिल समेत गरेका छन । 

यसैक्रममा सोलिडारिटी फर गोविन्द केसीले आफ्ना माग पूरा गराउन सरकारलाई दवाव दिन मंगलबारदेखि बालुवाटारमा प्रदर्शन गर्ने भएको छ। ‘चिकित्सा शिक्षा तथा स्वास्थ्य सम्बन्धी माग पूरा हुने मार्गमा अगाडि बढेको भएपनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग प्रस्ताव अगाडि बढाउने सन्दर्भमा व्यवस्थापिका संसद तथा प्रमुख राजनीतिक दलहरुले देखाएको मौनताले अलायन्स स्तब्ध बनेको छ,’ आज प्रेस विज्ञप्ति जारी गर्दै अलायन्सले भनेको छ, ‘सांसदहरुमा संस्थागत बन्दै गइरहेको जागिरे मानसिकता तथा दलीय निरंकुशताका कारण सांसदहरु स्वतन्त्ररुपमा आफ्नो विवेक र जिम्मेवारी पूरा गर्न असक्षम छन् भन्ने कुरा डा. केसीको अनसनले उजागर गर्दै गएको छ।’

विजया दशमीको संघारमा डा. केसीको स्वास्थ्य दिनप्रतिदिन नाजुक बन्दै जाँदा, आफ्नो जिम्मेवारीलाई बिर्सेर यो संसदीय अधिवेशन बन्द गरियो भने आफ्ना बिरोधका कार्यक्रमलाई देशव्यापी बनाउने पनि अलायन्सले बताएको छ। अलायन्सका अनुसार मंगलबारदेखि हरेक दिन बिहान ९:०० देखि १०:०० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बिरोध प्रदर्शन गर्ने उल्लेख गरेको छ।