अन्तराष्ट्रिय युवा सम्मलेनको तयारी तिब्र  


बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) को सहभागितामा काठमाडौमा हुने पहिलो अन्तराष्ट्रिय युवा सम्मलेनको तयारी तिब्र गतिमा भईरहेको छ। आगामी अक्टोवर १ देखि ४ सम्म “युवाहरुमा सामाजिक उद्दमशिलताको विकाश, सामाजिक उद्दमशिलता नै देश निर्माणको आधार” भन्ने नाराका साथ हुने अन्तराष्ट्रिय युवा सम्मलेनको तयारी चलिरहेको हो। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने सम्मेलनमा युवा विज्ञ, वैज्ञानिक तथा विशेषज्ञहरुको अनुभवहरु आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

सम्मलेनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली लगायत उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहने निश्चित भईसकेको गैर आबासीय नेपाली संघ अन्त्राष्ट्रिय समन्वय परिषद अन्तर्गत युवा फोरमका उप- संयोजक लोकराज शर्माले नेपालीनेपाली डटकमलाई जानकारी दिए।

शर्माका अनुसार सम्मेलनमा डा.युवाराज खतिवडा,डा.बिद्या नाथ कोईराला,डा. लामबोधर न्यौपाने,योगेन्द्र शाही लगायतका विज्ञहरुले सम्मेलनका बिबिध बिषयहरुमा छलफल गर्ने भएका छन्। नेपाली युवाहरुका मुख्य समस्या, चुनौती, संभावना र अवसरहरुको खोजी गर्ने सम्मेलनमा तयारी चलिरहेको छ।

राष्ट्रिय युवा विकास रणनीति तयार गर्नका लागि आवश्यक पृष्ठपोषण तथा मार्गनिर्देश गर्ने, युवा लक्षीत विभिन्न कार्यक्रम कार्यान्वयन गर्नका लागि प्राविधिक र आर्थिक सहयोग प्राप्त गर्ने वातावरण तयार गर्ने तथा बिदेशमा आर्जन गरेको ज्ञान, सीप र पूजी पहिचान, प्रर्बद्धन र प्रयोग गर्न ठोस तथा परिणाममुखी कार्यक्रमहरूको तर्जुमा गर्ने पनि सम्मेलनको उदेश्य रहेको छ।

यस्तै भूकम्पबाट थला परेको देशको अर्थतन्त्रको उत्थान र मौलाउदै गएको बेरोजगारीलाई न्युनीकरण गर्दै युवाहरूमा सामाजिक उद्यमशिलताको बिकास गर्ने र देशको पुर्ननिर्माणमा युवाहरूको स–शक्त परिचालन गर्ने सम्मेलनले उदेश्य राखेको छ।

विभिन्न देशका गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु, नेपालका युवा-विद्यार्थी संगठनहरुका प्रतिनिधिहरु, विभिन्न क्षेत्रका युवा उद्दमीहरु, विज्ञ तथा प्रतिष्ठित व्यक्तित्वहरु, युवा सम्बद्ध सरकारी, गैर सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरु र विभिन्न राष्ट्रहरुबाट आमन्त्रित युवा प्रतिनिधिहरुले सम्मेलनमा भाग लिने आयोजकले जनाएको छ।