ग्वार्डिओलाले मोउरिन्होलाई प्रिमियर लिगमा पनि पछारे


म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियरलिगमा शतप्रशित जीत शनिबारको खेलमा पनि कायम राखेको छ । सिटीले म्यानचेस्टर यूनाइटेडको घरेलु मैदान ओल्ड ट्रायफोर्डमा भएको खेलमा २–१ को जित निकाल्यो ।

सिटीले केभिन डे ब्रुनको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । त्यसयता ३६ औं मिनेटमा केकेची इहेनाचोले दोस्रो गोल थपेका थिए ।

पहिलो हाफ सकिन तीन मिनेट अगाडि ज्लाटन इब्रामोभिचले यूनाइटेडका लागि एक गोल फर्काएका थिए । दोस्रो हाफमा दुवै टिमले पर्याप्त अवसरको सिर्जना गरेपनि गोल गर्न भने सकेनन् ।

‘यो जितमा हामी खुसी छौं र यसका लागि कडा संघर्ष पनि गर्नु पर्‍यो,’ सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले खेल पछि भने ।

सिटीको लिगमा यो लगातार चौथो जित हो र यससँगै टिम अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यो हारले भने यूनाइटेडको लगातार जितमा पूर्णविराम लागेको छ । हारसँगै जोसे मोउरिन्होको म्यानचेस्टर नौ अंकमा सीमित रह्यो ।