डेनमार्क सम्मेलनमा,एनआरएनए अभियन्ताहरुले के भने ?


डेनमार्क(कोपेनहेगन) । युरोपमा जम्मा भएका गैरआवासीय नेपाली अभियन्ताहरुले नेपालको विकासमा निराश मात्रै नहुन आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)को युरोपेली डेनमार्कमा सुरु भएको क्षेत्रीय सम्मेलनमा एनआरएनका अभियन्ताहरुले नेपालमा केही भएको छैन भनेर निराश नहुन आग्रह गर्दै मुलुकमा प्रसस्त अवसर रहेको बताए।
एनआरएनएका सस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालमा विकासले गति लिन थालेकोले केही हुँदैन र भएको छैन भनेर निराश नहुन आग्रह गरे । उनले पैसा नेपालमा पैसा त खाडी मुलुक र मलेशियाबाट जाने तर सीप र ज्ञानका लागि युरोपमा बस्ने नेपालीहरुबाट मुलुकले बढी आश गरेको बताए ।
‘नेपाल सुरक्षित छ, हामी आफैले भोगेका छौं, उनले भने, अब समृद्ध हुन तपाई हामीले खुला आँखाले सपना देख्नुपर्छ, तपाई समृद्ध हुनुस अनि देश बनाउन सक्छौं ।’ उनले मुलुकलाई भूकम्पबाट भन्दा बढी क्षती राजनीतिक भूकम्पबाट भएको र यसलाई रोक्ने उपाय आर्थिक समृद्धि मात्रै भएको पनि बताए । हामीले देश बनाउने वाचा गरेका छौं, त्यो वाचाबाट पछि हट्न सक्दैनौं काम गरेर देखाउँछौं, उनले भने ।
IMG_9297
घर बनाउनु भएको छैन भने दुई तीन वर्ष दुख गरेर भएपनि  नेपालमा घर बनाउनुस, त्यसले तपाईको पुस्तालाई नेपालसँग जोड्ने छ । घरमा नेपाली बोल्नुस, आफ्नो सस्कृति मान्नुस यसले तपाईको आगामी पुस्तालाई नेपालसँग जोडेर राख्छ, उनले भने ।
राजनीतिक दलका घोषणा पत्रमा विकासका कुराले प्राथमिकता पाएको जानकारी दिने अब कोरा राजनीतिक कुराले केही नहुने उनले बताए । आफ्नै जीवनमा समृद्ध नेपालको नागरिक हुने आफ्नो चाहना पुरा भएरै छाड्ने पनि उनले बताए ।
एनआरएनएका प्रमुख संरक्षक जीवा लामिछानेले मुलुक भित्र धेरै क्षेत्रमा लगानी गर्ने अवसर रहेको भन्दै लगानी गर्न आग्रह गरे । ‘केही समस्या छन् तर ती समाधान नै गर्न नसक्ने खालका छैनन् । मेरो लगानीका अनुभवले पनि भन्न सक्छु नेपालमा प्रसस्त लगानीको अवसर छ, लामिछानेले भने, नेपालमा उपलब्ध वस्तु भनेको जनशक्ति हो, निकै ठूलो मात्रामा जनशक्ति छ ।’
IMG_9297
 वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनु पर्ने पनि उनले बताए ।सामूहिक लगानीको आयोजना निर्माण अघि बढाएको जानकारी दिदै भने, एनआरएन इन्भेष्टमेन्ट कोषबाट २७ मेगावाटको जलविद्युत आयोजना निर्माण भइरहेको छ ।
एनआरएनका अध्यक्ष शेष घलले नेपालको विकासमा सहकार्य गर्न सबैलाई आग्रह गरे । विकासमा एनआरएनले सहकार्य गर्न नसके त्यसको लाभ अन्य पक्ष उठाउने बताए । एनआरएनका उपाध्यक्ष भवन भट्ट, कुमार पन्त, पुर्वप्रमुख संरक्षक रामप्रताप थापाले सस्थालाई दीर्घकालिन सोचमा अघि बढाउनु पर्ने बताए ।
एनआरएनका महासचिव डा बद्री केसीले राजीतिक स्थायित्व कायम गरेर मुलुकलाई तिब्र आर्थिक विकासमा लैजान नेपाल सरकारसँग आग्रह गरे । उनले राजनीतिक स्थायित्व र आर्थिक नीतिमा स्थिरता कायम गर्न आग्रह गरेका छन् । उनले एनआरएनएलाई दलगत राजनीतिबाट जोगाउन पनि आग्रह गरे ।
IMG_9357
 डेनमार्कका लागि नेपालका कार्यवाहक राजदूत रामकाजी खड्का, एनआरएनका संरक्षक दिल गुरुङ,सचिव अर्जुन श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारीले सम्बोधन गरेका थिए ।
दुई दिन चल्ले यो सम्मेलनमा युरोपेली मुलुकमा  राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि लगायत अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता छ ।
सम्मेलनमा करिब तीन सय भन्दा बढी प्रतिनिधिले सहभागिता जनाएको आयोजकले जनाएको छ । गैरआवासीय नेपाली संघ डेनमार्क राष्ट्रिय परिषद्को संयोजनमा सम्मेलन आयोजना गरिएको हो ।