काठमाडौ उपत्यका खतराको सूचीमा पर्नबाट जोगियो


वसन्त रानाभाट / बार्सिलोना

काठमाडौ उपत्यका खतराको सूचीमा पर्नबाट जोगिएको छ। जुलाई १० देखि २० तारिख सम्म टर्कीको स्थानबुलमा भईरहेको बिश्व सम्पदा समितिको बैठकमा काठमाडौ उपत्यकाको बारेमा चर्चा चले पनि खतराको सूचीमा पर्नबाट भने जोगिएको हो।

बिश्व सम्पदा संरक्षण महासन्धि सन् १९७२ अन्तर्गत काठमाडौ उपत्यका सन् १९७९ मा सुचिकृत भएको थियो। महासन्धि अनुसार बिश्वब्यापी उच्चस्तरको मुल्य (outstanding universal value) कायम हुन नसकेमा कुनै पनि सम्पदा खतराको सुचिमा जान सक्ने डर  हुन्छ। गत बर्ष गएको बिनाशकारी भूकम्पका कारण धरहरा नष्ट हुनु, पुराना दरबारहरु भत्कनु,उपत्यकामा रहेका साँस्कृतिक तथा पुरातात्विक सम्पदामा ठुलो क्षति पुगेका कारण खतराको सूचीमा पर्ने डर रहेको थियो।

संयुक्त राष्ट्र संघिय शैक्षिक बैज्ञानिक तथा साँस्कृतिक संगठन( युनेस्को) अन्तर्गत बिश्व सम्पदा समितिमा २१ वटा राष्ट्रहरु रहेका छन्। नेपाल भने समितिमा नरहे पनि युनेस्को अन्तर्गतको पक्ष राष्ट्र भएका कारण छलफलमा सहभागी बन्यो।  बिश्व सम्पदा सूचीको सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौ उपत्यका र गौतम बुद्दको जन्मस्थल लुम्बिनी क्षेत्र यस्तै प्राकृतिक सम्पदाको अन्तर्गत भने  सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज सुचिकृत छन्।

स्थानबुलको जारी बिश्व सम्पदा समितिको चालीसौ बैठकमा नेपाल सरकार संस्कृति मन्त्रालयका सचिव प्रेम राईको  नेतृत्वमा पुरातात्विक बिभाग महानिर्देशक भेष नारायण दाहाल, लुम्बिनी बिकास कोषका सदस्य सचिव अजित मान तामाङ्,लुम्बिनी बिकास कोषका बरिष्ट अधिकृत ज्ञानिन राई,फ्रान्स स्थित नेपाली दूताबासबाट राजदूत अम्बिका देबी लुईटेल,दूतावासका उपनियोग प्रमुख रामबाबु ढकाल लगायत पुरातात्विक बिभागका बिज्ञहरुको उपस्थिति रह्यो।

बैठकमा सहभागी पेरिस दूतावासका उपनियोग प्रमुख ढकालले गत बर्ष जस्तै अहिले पनि काठमाडौ उपत्यका खतराको सूचीमा पर्नबाट जोखिएकोमा खुशी ब्यक्त गरे। खतरामा राख्ने बित्तिकै नेपालको पर्यटन क्षेत्रलाई ठुलो प्रभाव पार्न सक्ने हुँदा अब भने नेपाल सरकारले सांस्कृतिक गुरु योजना नै तयार गरेर काम गर्नु पर्नेमा उनले जोड दिए।

सन् २०१७ सम्ममा पनि क्षति ग्रस्त संरचनाहरुको अबस्थामा सुधार नआएमा वा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा नेपाल सरकारले चासो नदेखाएमा काठमाडौ उपत्यकालाई बिश्व सम्पदा समितिले खतराको सुचीमा राख्ने डर बढेर गएको छ। पुरातात्विक बिश्व सम्पदा सूचिको सचिवालयको रुपमा रहेको बिश्व सम्पदा केन्द्रले स्थलगत निरिक्षण गर्ने र स्थलगत कार्य प्रगतीको आधारमा अर्को बर्ष पुन:निर्णय गने हुँदा नेपाल सरकारलाई यो मौका रहेको छ।

बिश्व सम्पदा समितिको बैठकले सम्पदाको सूचीमा सुचिकृत गर्ने,खतराको सूचीमा राख्ने,र कतिपय सम्पदालाई भने सूचीबाट नै हटाउँने काम समेत गरेको छ। बिश्व सम्पदा सूचीमा रहेको काठमाडौ उपत्यका भित्र पशुपतिनाथ मन्दिर परिसर,स्व्यम्बु बौद्दनाथ, बसन्तपुर दरबार,ललितपुर,भक्तपुर दरबार लगायत ७ बटा क्षेत्रहरु रहेका छन्। पशुपति क्षेत्रबाट निस्कने गरी बनेको कच्ची बाटो,लुम्बिनी क्षेत्रको नजिक पारेर बन्न लागेको बिमानस्थललाई लिएर अन्तराष्ट्रिय चासो राखेको बताईन्छ।

बिश्व सम्पदा सूचीमा रहेका चार बटा सम्पदाहरु मध्ये काठमाडौ उपत्यका,लुम्बिनी क्षेत्र,सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जले भने महासन्धि अनुसार बिश्वब्यापी उच्चस्तरको मुल्य कायम राख्न तर्फ सदैब ध्यान दिन भने जरुरी छ।