आदर्श समाजको कार्यकारी सम्पादकमा नवीन सिग्देल नियुक्त


पोखरा, ३१ असार। आदर्श समाज राष्ट्रिय दैनिकको कार्यकारी सम्पादकमा नवीन सिग्देल नियुक्त भएका छन्।

पत्रिकाका अध्यक्ष एवं प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले साउन १ गतेदेखि लागू हुने गरी सिग्देललाई कार्यकारी सम्पादकमा नियुक्त गरेका हुन्। प्रमुख समाचारदाताबाट बढुवा गरी सिग्देललाई कार्यकारी सम्पादक बनाइएको हो।

२०५८ साल असारमा स्ट्रिन्जरका रुपमा आदर्श समाज पत्रिकामा काम सुरु गरेका सिग्देल त्यसपछि क्रमशः संवाददाता, वरिष्ठ संवाददाता हँुदै ०६८ जेठदेखि प्रमुख समाचारदाताका रुपमा कार्यरत थिए।

व्यवस्थापनमा स्नातक गरेका सिग्देलसँग छापा तथा विद्युतीय सञ्चारमाध्यममा काम गरेको अनुभव छ। उनले राष्ट्रिय समाचार समिति, गोरखापत्र, नेपाल एफएम नेटवर्क, टि टिभी, रेडियो बाराही र ओएनएस अनलाईन न्यूज सेवालगायतका एक दर्जन जति सञ्चार संस्थामा कामको अनुभव बटुलेका छन्।

कार्यकारी सम्पादक सिग्देल पत्रकारिता क्षेत्रको स्व. गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, राष्ट्रिय समाचार समिति उत्कृष्ट आलेख पत्रकारिता पुरस्कार, अपराध अन्वेषण पत्रकारिता पुरस्कार, स्व. तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार, कास्की जिल्ला उत्कृष्ट पत्रकार पुरस्कारबाट पुरस्कृत हुनुका साथै सामाजिक क्षेत्रका दुई दर्जन बढी पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन्।

कार्यकारी सम्पादकमा नियुक्त भएपछि सिग्देलले मन, वचन र कर्मले सदैव पत्रकारितामा समर्पित भइरहने प्रतिवद्वता व्यक्त गरेका छन्।