निस घटनामा नेपालीहरु परेको जानकारी छैन -पेरिस दुताबास


बार्सिलोना /फ्रान्सको दक्षिणी सहर निसमा एउटा आतंकवादी हमलाको घटनामा कुनै पनि नेपालीहरु नपरेको पेरिस स्थित नेपाली दुताबासले जनाएको छ। फ्रान्स स्थित परराष्ट्र मन्त्रालयसँग सम्पर्क भईरहेको जनाउँदै,हालसम्म कुनै पनि नेपाली घटनाबाट प्रभावित नपरेको पेरिस दुताबासले जनाएको हो।

‘बासटिल डे’ अर्थात् त्यहाँको राष्ट्रिय दिवसको अन्त्यमा आतिसबाजी हेरिरहेका मानिसको भीडमा एउटा लरी छिराइए पछि ८४ जनाको ज्यान गएको छ भने घटनाका पीडितहरुमा धेरैजसो बालबालिका छन्।

पेरिस स्थित नेपाली दुताबासका उपनियोग प्रमुख रामबाबु ढकालले भने,” हाल सम्म घटनामा कुनै पनि नेपाली परेको बारे जानकारी छैन। निस सहर खासै नेपालीहरु बाक्लो बसाई भएको क्षेत्र हैन ,तर पनि आतिसबाजीको समयमा बाहिरबाट पनि नेपालीहरु घुम्न गएका हुन सक्छन् भन्दै निरन्तर सम्पर्कमा छौ।”

उनले आज नै सो क्षेत्र वरपर बस्ने जानकारी प्राप्त भएका केहि नेपालीहरुसँग सम्पर्क गरिसकेको बताए। ढकालले भने,” धर्म पुत्र धर्म पुत्री बनेका नेपालीहरु लगायत फ्रेन्च नागरिकहरुसँग बिबाह गरेर बसेका केहि नेपालीहरु  निसमा रहेको जानकारी अनुसार नै हामीले सम्पर्क गरेका हौ तर सबै सुरक्षित छन् ।”

घटनाबाट प्रभावित वा परेको आशंका लागेमा पनि तुरुन्त खबर गर्न दुताबासले अनुरोध गरेको छ।