कोपनहेगनमा बालबालीकाहरुको लागि कार्यक्रम हुँदै


प्रकाश ढकाल ।
कोपनहेगन । कोपनहेगनमा युवा, युवती तथा खेलाडीहरुको लागि मात्र कार्यक्रम होईन, अब छिट्टै यहि हप्ताको अन्त्य  तिर स-साना बालबालिकाहरुको लागि पनि कार्यक्रम हुँदै छ ,त्यो पनि विविध कार्यक्रम सहित खुला चौरमा ।

Screen Shot 2016-07-12 at 16.00.02
‘स्क्यान्ड़ेनेभियन चाइल्ड हेरो’ नाम दिइएको सो कार्यक्रम यहि जुलाई १७ गते आइतबार बेल्लाहोएको खेल मैदानमा आयोजना हुँदै छ । उक्त वृहत कार्यक्रम ‘स्क्यान्ड़ेनेभियन हेल्प’ नामक संस्थाले आयोजना गर्न लागेको हो ।

स-साना बालबालिकाहरुले भाग लिने उक्त कार्यक्रममा दौड प्रतियोगीता लगायतका बालबालिकाका लागि उपयुक्त खेलहरु खेलाइने बताइएको छ ।

हाल सम्म करीब ७५ जना बालबालिकाले भाग लिने गरी दर्ता भएका छन । कार्यक्रम बाबुनानीहरुको उमेर अनुसार ३ देखि १२ वर्षसम्मका हरुको लागि हुनेछ । सहभागी बन्नको लागि नाम दर्ता गराएका बालबालिका र अभिभावक सबैलाई स्क्यान्ड़ेनेभियन हेल्प डेनमार्कले धन्यवाद ज्ञापन गरेको छ ।

३ देखि १२ वर्षसम्मका बालबालिकाहरुको उमेर समूह छुट्याएर विभिन्न खेलहरु खेलाइने छ । बालबालिकाहरुले विदेशमा बसे पनि नेपाली संस्कृति अनुसारका खेलहरु नभुलुन भनेर नेपाली खेलहरु खेलाइने भएको कार्यक्रमको संयोजन गरिरहेको  इभेन्ट टिम स्क्यान्ड़ेनेभियन हेल्प डेनमार्कले जनाएको छ ।
कार्यक्रम अझै उत्साह वर्धक हुने देखिएको छ । अभिवावकहरुको रुचि निकै देखिएकोले यस पटक अघिल्लो वर्षहरु भन्दा धेरै बालबालिका हरु सहभागी हुँदै छन् । बालबालिकाहरुको लागि मात्र नभई अभिवावकहरुको लागि पनि उत्तिकै महत्वपूर्ण रहने देखिन्छ ।

स्क्यान्ड़ेनेभियन हेल्प संस्था नेपालमा गरीब तथा पिछडीएका बालबालिकाहरुको पढाइमा सहयोग गर्दै आएको संस्था हो । डेनमार्कमा प्रत्येक वर्ष नेपाली बालबालिकाहरुको लागि छुट्टै कार्यक्रम गर्दै आइरहेको छ ।

यसवर्ष पनि नेपाली भान्छा घर रेस्टुरेन्ट, केक एण्ड बेक, शिभांस मेमोरियल ट्रस्ट ले कार्यक्रमको प्रायोजन गर्ने भएका छन् । नेपाली भान्छा घरले बालबालिकाहरुको लागि पिउने पानी, जुस लगायत प्रायोजन गर्दै छ भने केक एण्ड बेकले सबै बालबालिकाहरुको लागि केकको व्यवस्था गर्दै छ भने शिभांस मेमोरियल ट्रस्टले बालबालिकाहरुलाई मेडलको व्यवस्था गर्ने भएको छ ।

यसैगरी यस वर्षको कार्यक्रमको लागि एभरेस्ट रेमिटेन्स र जनसम्पर्क समिति डेनमार्कले पुरस्कार प्रायोजन गर्ने भएका छन् । कार्यक्रममा वितरण गरिने ‘टोकन अफ लभ’ को प्रायोजन ती संस्थाहरुले गर्ने भएका हुन् ।

तस्वीर स्रोत: स्क्यान्ड़ेनेभियन हेल्प को फेसबुक पेज ।