मानव तस्करी गर्दै स्पेन ल्याउँने,सभासदहरुको राज यसरी खुल्यो


सांसद                              नाम थपिएका सहयोगी
गोमा कुँवर                       भरत दनुवार
डोरप्रसाद उपाध्याय       सहदेव थापा
सिर्जना खत्री                  अदिना गुरुङ
सन्तकुमार थारू             देवेन्द्रप्रसाद साह
रूपा महर्जन श्रेष्ठ          लोकमान गुरुङ
राममाया बोगटी           तेन्डोमा शेर्पा
दिलमाया धामी           पंकज गुरुङ
धना पहरी                   खड्गबहादुर राई

…………

मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन्। स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन्।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पीए बनाएर असम्बद्ध व्यक्तिको नाम थपेको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगाडि बढाएको हो।

संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिसा सिफारिस पत्रका आधारमा कन्सुलर सेवा विभागले उनीहरूको नाममा सिफारिस पत्र दिएको थियो। संसद् सचिवालय र विभागको पत्रमा सांसदको मात्रै नाम सिफारिस थियो। तर, स्पेनका लागि भिसा आवेदन गर्दा सबैको पत्रमा व्यक्तिगत सहयोगीका रूपमा एक–एक जनाको नाम थपिएको थियो।

कान्तिपुरले प्राप्त गरेको कन्सुलरको पहिलो पत्रमा कूटनीतिक राहदानीको नम्बरसहित स्पेन जाने सभासदको नाम, कार्यक्रम र कार्यक्रमको अवधि उल्लेख छ। दूतावासमा भिसाका लागि पुगेको कन्सुलरको पत्रमा भने सांसदको नाम, कार्यक्रम र कार्यक्रमको अवधिसँगै सांसदसँगै अन्य एक जनाको नामसमेत थपिएको छ।

सांसद कुँवरको भिसा सिफारिस पत्रमा भरत दनुवारको नाम थपिएको छ। उपाध्यायको पत्रमा सहदेव थापा, खत्रीको पत्रमा अदिना गुरुङ र थारूको नाममा जारी भएको पत्रमा देवेन्द्रप्रसाद साहको नाम थपिएको छ। श्रेष्ठको पत्रमा लोकमान गुरुङ, बोगटीको पत्रमा तेन्डोमा शेर्पा, धामीको पत्रमा पंकज गुरुङ र पहरीको पत्रमा खड्गबहादुर राईको नाम थपिएको छ। पत्रमा थप गरिएको सबैको पद सांसदको निजी सहयोगी उल्लेख छ।

स्रोतअनुसार विभिन्न कार्यक्रममा सहभागी हुन सांसदको कूटनीतिक राहदानी र सहयोगीको नाममा सामान्य राहदानीमा भिसा आवेदन भएपछि भारतस्थित स्पेनी दूतावासले शंका लागेर त्यसबारे कन्सुलर विभागलाई सोधेको थियो। विभागले भिसा आवेदनमा पेस भएको पत्र र आफूले सिफारिस गरेको पत्र भिडाउँदा नाम थपिएको पत्ता लागेको हो। त्यसपछि किर्तेको जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको हो।

सुरुमा यसबारे अपराध अनुसन्धान विभाग (सीआईडी) ले अनुसन्धान थालेको थियो। कन्सुलर शाखा स्रोतका अनुसार केही दिनअघि सीआईडीका एसपी जगतमान श्रेष्ठसहितको प्रहरी टोली त्रिपुरेश्वरस्थित कन्सुलर कार्यालय पुगेर ती सांसदको सिफारिस पत्रलगायत कागजात लिएर गएको थियो।

प्रारम्भिक अनुसन्धानमा पत्र किर्ते गरी मानव तस्करीमा सांसदको संलग्नता देखिएपछि सीआईडीले सोमबार अनुसन्धानसँग सम्बन्धित सबै कागजात ब्युरोमा पठाएको थियो। ब्युरो स्रोतका अनुसार त्यसपछि टोली गठन गरी अनुसन्धान अगाडि बढाइएको छ। कन्सुलर शाखामा गएर पत्र ल्याएकोबारे सोध्दा एसपी श्रेष्ठले भने, ‘यसबारे मलाई जानकारी छैन।’

यसबारे कन्सुलर गणेश ढकालसँग जिज्ञासा राख्दा उनले पनि ‘जहाँबाट सूचना पाउनुभएको हो उतै सोध्नोस्’ भन्दै फोन काटिदिए।

सभासदको नाममा जारी भएको संसद् सचिवालयको सिफारिस पत्रका हस्ताक्षरकर्ता शाखा अधिकृत गोपाल सिग्देलले ‘विदेशमा हुने कार्यक्रममा सहभागी हुन आएको निम्तासहित सभासदबाट निवेदन आएपछि कन्सुलर विभागलाई सिफारिस पत्रका लागि पत्र पठाउने’ गरेको जानकारी दिए। तर त्यसपछिको अवस्थाबारे शाखालाई कुनै जानकारी नहुने उनले जनाए। ‘सांसदले सिफारिस पत्र मागेपछि पत्र लेखिदिन्छौं, पत्रपछि भिसा लाग्यो/लागेन शाखाले फलोअप गर्दैन,’ उनले भने, ‘सांसदहरूले जानकारी पनि दिनुहुन्न।’

सांसदमाथिको छानबिनबारे केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘यस विषयमा म बोल्दिनँ।’

भिन्न कार्यक्रम, एकै मिति
भिन्न कार्यक्रम, एकै मितिस्पेनबाट ती सांसदलाई निम्ता गरिँदा बेग्लाबेग्लै मितिका कार्यक्रममा भाग लिन बेग्लाबेग्लै संस्थाबाट बोलाइएको थियो। कान्तिपुरलाई प्राप्त आठै पत्रअनुसार सांसद कुँवरले २८ जुनदेखि १ जुलाईसम्म स्पेनमा आयोजना हुने ‘इन्टरनेसनल इन्स्टिच्युट अफ सोसल एन्ड इकोनोमिक साइन्स’को कार्यक्रममा सहभागी हुन आवेदन दिएकी थिइन्। उपाध्याय र बोगटीले २९ जुनदेखि १ जुलाईसम्म आयोजना हुने ‘एन्टी माइक्रोबायल रिसर्च (सूक्ष्म जीवाणु अध्ययन)’ सम्बन्धी कार्यक्रममा भाग लिन निवेदन दिएका थिए। खत्री र श्रेष्ठ २८ जुनदेखि १ जुलाईसम्मको ‘टिचिङ एन्ड एजुकेसन’ कार्यक्रम, थारूले ११ जुलाईदेखि १३ सम्म आयोजना हुने ‘इन्टरनेसनल रिन्युवेबल इनर्जी एन्ड इन्भायोरोमेन्ट कन्फ्रेन्स’मा जान निवेदन दिएका थिए। धामी र पहरीले जुलाई २१ देखि २४ तारिखसम्म आयोजना हुने भाषासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आवेदन दिएका थिए।

उनीहरूले दिएको निवेदनका आधारमा शाखाले २०७३ जेठ २३ मा भिसा सिफारिसका लागि कन्सुलर सेवा विभागमा पत्र पठाएको थियो। उनीहरूले भिन्न–भिन्न कार्यक्रममा सहभागी हुन निवेदन दिए पनि संसद् सचिवालयले कन्सुलर विभागलाई जेठ २३ गते सबै सिफारिस पत्र एकैसाथ पठाएको थियो। शाखाको पत्रका आधारमा कन्सुर विभागले ५ जुनमा ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्र लेख्दै भिाका लागि सिफारिस गरेको थियो।

कोही अक्मकाए, कसैले स्वीकारे

‘तेन्डोमा शेर्पालाई चिन्नुहुन्छ?’ कान्तिपुरको जिज्ञासामा सांसद राममायाले पहिला भनिन्, ‘चिन्दिनँ।’ लगत्तै ‘स्पेन जान बनाउनुभएको पत्रमा त शेर्पा तपाईंको सहयोगी भनिएको छ नि’ भनी सोध्दा उनले भनिन्, ‘ए त्यो त सँगै जान मिलाएका हौं, अरू साथीहरू पनि हुनुहुन्छ।’

भिसाका लागि कागजपत्र मिलाउने प्रक्रियामा अर्कै व्यक्तिले सघाएको जानकारी दिँदै उनले भनिन्, ‘जाने भन्ने थियो, तर अहिलेसम्म जानकारी आएको छैन।’ अनुसन्धानको दायरामा तानिएका ८ मध्ये सिर्जना खत्रीसँग सम्पर्क हुन सकेन। सम्पर्कमा आएका राममायासहितका ७ जना सभासदमध्ये कतिले पत्रमा नाम थपिएको व्यक्ति पीए नै भएको दाबी गरे भने कतिले पहिला पीए नै हो भनिसकेर पनि पछि ‘होइन’ भने। दिलमाया धामीले भने पीएका रूपमा सिफारिस गरिएका पंकज गुरुङलाई ‘चिन्न पनि सक्छु, चिन्न पनि सक्दिनँ’ भनिन्।

उनले आफ्नो पीए भने छोरा विकास धामी भएको बताइन्।

७ जना सभासदले सहयोगीमार्फत भिसा प्रक्रिया अगाडि बढाएको खुलाए। सांसद राममाया र धनाले ‘रोहितले स्पेन जाने भए भिसा मिलाइदिन्छु’ भन्ने प्रस्ताव ल्याएको र आफूलाई अरू केही थाहा नभएको बताए। अन्य सांसदले कसैले अर्को सांसदको भाइमार्फत प्रक्रिया अगाडि बढाएको बताए भने कतिले आफ्नै मित्रमार्फत प्रक्रिया अगाडि बढेको दाबी गरे।

सांसद रूपा महर्जन श्रेष्ठका अनुसार उनका सहयोगी रामशरण डंगोल हुन्। स्पेन जाने पत्रमा नाम थपिएका लोकमान गुरुङलाई स्पेन जानका लागि मात्रै पीए बनाएको उनले बताइन्। विदेश जाँदा सहयोगी पनि फेरिन्छन् र? भन्ने जिज्ञासामा उनको जवाफ थियो, ‘राख्न सकिन्छ नि।’ उनले कन्सुलर विभागबाट आएको पत्र आफूले हेरेको र त्यसमा दुवै जनाको नाम रहेको दाबी गरिन्।

सभासद धना पहरीले सुरुमा खडगबहादुर राई आफ्नो पीए भएको बताइन्। तर स्पेन जाने भिसाका लागि आवेदन दिएको हो भन्ने संवाददाताको जिज्ञासापछि उनले भनिन्, ‘खै के ढाँट्नु भाइ त्यो खडग भन्ने मेरो पीए हैन है।’ उनले रोहित भन्ने व्यक्तिले स्पेन जाने प्रस्ताव ल्याएको र उनैले सबै प्रक्रिया अगाडि बढाएको बताइन्।

‘स्पेन जाने भए म मिलाइदिन्छु, सजिलै भिसा लाग्छ भनेर रोहितले भनेपछि लौ त जाऊ भनेर राजी भएको हो उनले बताइन्। ‘उसको पूरा नाम पनि थाहा छैन, तिनीहरूले के–के मिलाए त्यो पनि थाहै भएन,’ उनले भनिन्। अर्का सांसद सन्तकुमार थारूले पनि स्पेन जान उनीसँगै नाम सिफारिस भएको देवेन्द्रप्रसाद साहलाई नचिनेको दाबी गरे। सांसद जानकी साउदको भाइमार्फत आफूले स्पेन जाने प्रक्रिया अगाडि बढाएको उनले बताए।

सांसद गोमा कुँवरका अनुसार उनको व्यक्तिगत सहयोगी वीरबहादुर कुँवर हुन्। स्पेन जाने पत्रमा सहयोगी भनिएको भरत दनुवारलाई आफूले नचिनेको उनले दाबी गरिन्। स्पेन जाने भिसाका लागि पाटन अस्पताल पछाडिको एक कार्यालयमा गएर सबै कागजपत्र बुझाएको उनले बताइन्।

सांसद डोरप्रसाद उपाध्यायले भने यसबारे ‘आफूले पनि बुझिरहेको’ बताए। विश्वास गरेर केही साथीमार्फत स्पेन जाने प्रक्रिया अगाडि बढाएको र कन्सुलरको पत्रमा सहयोगीका रूपमा नाम राखिएका सहदेव थापासँग आफ्नो चिनजानसमेत नभएको उनले बताए। स्पेन जाने प्रक्रियामा सघाउने साथी को हुन् भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रै साथीहरू हुन्, पछि भनौंला नि।’

धामीले पनि रोहित भाइमार्फत स्पेन जान प्रस्ताव आएको र अन्य माननीयहरूले जाउँ जाउँ भनेर कर गरेकाले कागजपत्र दिएको बताइन्। भिसा किन नआएको भन्ने प्रश्नमा उनले भनिन्, ‘खोइ, म के भनुँ?’ – कान्तिपुरबाट साभार 

 

तपाईको प्रतिक्रिया