कांग्रेस महामन्त्री शशांकलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै, स्वास्थ्य अवस्था गम्भीर,


मंगलबार बेलुका अस्वस्थ भएर ओम अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वस्थ्य अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । हिजो बेलुका ८ बजे अचानक असजिलो महसुस भएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको कोइरालाका निजी सहयोगी भरत तिवारीले जानकारी दिए ।

अस्पतालका प्रवक्ता डा. लवनरसिंह जोशीका अनुसार हिजो साँझ अस्पताल भर्ना हुँदा उनको रक्तचाप ११०/७० थियो । उनी पेटमा दुखाई र स्वास–प्रस्वासमा समस्या भएका कारण अस्पताल आएको उनले बताए । निजी सहयोगी तिवारीका अनुसार चिकित्सकले चिन्ता गर्नुपर्ने अवस्था नरहेको तर अब्जरभेसनमा बस्नुपर्ने बताएपछि कोइरालाले बेलुका अस्पतालमा नै पिज्जा र जुस खाएर सुतेका थिए । उनलाई निरन्तर अक्जिजन भने दिईरहेको थियो ।

‘बेलुका ३ बजे तिर बान्ता भयो । त्यसपछि फेरी सुत्नुभयो । कतिबेला अक्सिजन पाइप निकाल्नुभए छ थाहै भएन,’ उनले भने, ‘बिहान ५ बजे तिर नर्सहरु राउन्डमा आउँदा उनलाई अर्धचेत अवस्थामा देखेपछि आइसीयूमा सारिएको हो ।’

अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार बिहान ५:३० बजे उनलाई नर्सहरुले अर्धचेत अवस्थामा देखेपछि चिकित्सकलाई खबर गरेका थिए । त्यतिबेला उनको रक्तचाप ६०/४० थियो भने शरिरमा अक्सिजन लेभल मात्र ६९ प्रतिशत थियो । उनले बान्ता पनि गरेका थिए । त्यसपछि चिकित्सकले उनलाई ‘सिपिआर’ दिनुका साथै इनट्युबेट गरेका थिए । लगत्तै उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

डा. जोशीका अनुसार कोइराला अहिले पनि अचेत अवस्थामा नै छन् र उनको अवस्था अत्यन्तै गम्भिर रहेको छ । उनको देब्रे फोक्सोमा निमोनिया धेरै नै देखिएको छ । अस्पतालले दिएको जानकारी अनुसार उनको उपचारका लागि काठमाडौंमा उपलब्ध प्राय सबै वरिष्ठ चिकित्सकहरुसँग सल्लाह लिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एयर एम्बुलेन्स मार्फत दिल्ली लगेर उपचार गराउन प्रस्ताव गरे पनि अहिलेको अवस्थामा उनलाई कही कतै लैजान नमिल्ने अस्पतालले जानकारी दिएको छ भनी कान्तिपुरले समाचारमा उल्लेख गरेको छ।