स्पेन काँगेस नेतृत्वमा को आउँला ? पाँचौ अधिबेशन सेक्टेम्बरमा  


बार्सिलोना/ स्पेन काँगेसमा नेतृत्व कसले गर्ला भनेर चर्चा सुरु हुन थालि सकेको छ। नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन आगामी सेक्टेम्बर १८ तारिख का लागि तोकिए पछि नेतृत्व बारे चर्चा सुरु हुन लागेको हो। गत जुन २९ तारिख बसेको समितिको नियमित बैठकले अधिबेशन बारे निर्णय सुरु गरे सँगै सरगमी बढ्न थालेको छ।

सन् २००७ मा चिन्तामणी सापकोटाको अध्यक्षतामा तदर्थ समिति गठन भई स्थापना भएसँगै नेपाली जनसम्पर्क समिति स्पेनको बलियो संगठनको रुपमा ठानिदै आएको छ। गैर आबासीय नेपाली संघमा हुने सहभागितालाई बिशेष रुपमा हेरिने गर्दा यसको बर्चश्व रहँदै आएको छ।  यस अघि समितिका चार वटा अधिबेशनहरु सम्पन्न भईसकेका छन् । संजोग नै भन्नु पर्छ अघिल्ला  दुई अधिबेशन निर्बाचनबाट र पछिल्ला दुई सर्बसम्मतबाट सपन्न भए। अहिले पाँचौ अधिबेशनलाई फाईनलको रुपमा हेरिएको छ।

चुनाबी वा सर्बसम्मतको लहर स्पेनको जनसम्पर्क समिति कता डोरिदै छ  भन्ने निर्णय पाँचौ अधिबेशनले गर्दै छ। पहिलो र दोस्रो निर्बाचनबाट क्रमश: पुष्पराज  भण्डारी र एकराज गिरी अध्यक्षमा निर्बाचित भएका थिए भने तेस्रो र चौथो अधिबेशनमा क्रमश चिन्तामणी सापकोटा र शालिकराम डुम्रे सर्बसम्मत अध्यक्ष बनेका हुन्।

को हुन् त अहिलेका नेतृत्व आकाक्षी ?

प्राय: प्रबासमा कुनै संघ वा संगठनको अधिबेशन आउँदा नेतृत्वका लागि थुप्रै आकाक्षीहरु भेटिन्छन्। केहि समयका लागि चर्चा पाउँन भए पनि अधिबेशन नजिक आईरहँदा दावा गर्नु  स्वभाबिक जस्तै बन्दै गएको छ।  जनसम्पर्क समिति स्पेन नेतृत्वमा यदी नयाँ अनुहार नै  आउँन हो भने यस पटक  बिष्णु रिजाल,ईन्द्र शर्मा,सन्दिप मोहोन भट्टराई र सन्तोष श्रेष्ठ (नामावली क्रम:अग्रेजी अल्फाबेट अनुसार) अध्यक्षका आकाक्षी देखिन्छन्। यस्तै गत अधिबेशनका अध्यक्षमा दावा गरेका बेदराम कंडेल ( हाल नेदरल्याण्ड) ले पनि  पुन: अध्यक्षमा दावा गर्न सक्ने सम्भावनालाई नकार्न नसकिने बताईन्छ।

यस्तै  अधिबेशनको सरगमी बढ्दै जाँदा पुर्ब अध्यक्षहरु वा बर्तमान अध्यक्षलाई पुन: नेतृत्वको लागि बिकल्पका रुपमा प्रस्तुत गर्न सकिने आकालन पनि गर्न सकिन्छ।  बिगतमा भएका अधिबेशनहरुमा भन्दा यस पटक नेतृत्वका लागि झनै प्रतिस्पर्धा र दौड धुप हुने संकेत छ। अध्यक्ष बाहेक अन्य पदहरुमा भने यसपटक खासै प्रतिस्पर्धा हुने देखिदैन।

अधिबेशन तयारीका लागि समिति गठन :-

अधिबेशन तयारीका लागि अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा कार्यसमितिका सबै सदस्यहरु रहने गरि मूल आयोजक समिति गठन भएको छ। अधिबेशन उद्घाटनका लागि पार्टी अध्यक्ष शेर बहादुर देउवालाई बोलाउँने तयारी भईरहेको अध्यक्ष डुम्रेले नेपालीनेपाली डटकमलाई जानकारी दिए।

यस्तै बर्तमान अध्यक्ष डुम्रेकै संयोजकत्वमा पुर्ब अध्यक्षहरु रहने गरी समन्वय समिति गठन भएको छ। समितिमा संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा तथा पुर्ब अध्यक्षहरु पुष्प राज भण्डारी र एकराज गिरी रहेका छन्। समन्वय समितिमा अझै एक जना थप गरिने अध्यक्ष डुम्रेले बताए।

पुर्ब अध्यक्ष भण्डारीको संयोजकत्वमा बढीमा पाँच सदस्य रहने निर्बाचन समिति बनेको छ। निर्बाचन समितिको बिस्तार छिट्टै गरिने समीतिले जनाएको छ। यस्तै सदस्यता बितरणलाई समितिले खुल्ला गरेको छ। प्रबक्ता हिरालाल सापकोटा (डायमण्ड) को संयोजकत्वमा १ सय १ सदस्यीय अधिबेशन प्रचारप्रसार समिति गठन भएको छ।

यसै बिच समितले गत शनिबार कांग्रेसका पुर्व सभापति गिरिजा प्रसाद कोईरालाको त्रियानब्बेऔ जन्म जयन्तिको  सम्झना गरेको छ। बार्सिलोना स्थित टिबीटाबु डाँडामा कार्यक्रम गर्दै स्वर्गीय कोईरालाको  सम्झना गरेको समितिले जनाएको छ।