बिश्व साईकल यात्री कार्की र खनाल स्पेनमा, १२९ राष्ट्र पुगे


बसन्त रानाभाट ,बार्सिलोना/ बिश्व शान्ति अभियान लिएर साईकल यात्रामा हिडेका दुई नेपाली साईकल यात्री स्पेनको बार्सिलोना आई पुगेका छन्। साँघु २ ताप्लेजुङ्का ३९ बर्षिय लोकबन्धु कार्की र पाँचखाल -१५ काभ्रेप्लाचोकका ५० बर्षिय जनार्दन खनाल बुधबार बार्सिलोना आई पुगेका हुन्। १ सय ५३ राष्ट्र पुग्ने लक्ष्य बोकेका साईकल यात्रीको स्पेन १ सय २९ औ राष्ट्र पुगेको छ। सन् २०१७ सम्ममा बिश्व यात्रा पुरा गर्ने कार्की र खनालको लक्ष्य रहेको छ।

“दिगो शान्ति र सच्चा मानवता सबैले बुझौ संसारको आबश्यकता” भन्ने नारा बोक्दै नेपाली पोशाक लगाएर, राष्ट्रिय झण्डा बोकेर दुवै जना साईकल यात्रामा रहेका छन्। यात्रा सुरु गरेका साईकल यात्रीहरुको स्पेन आईपुग्दा ११ बर्ष ६ महिनाको समय बितिसकेको बताउँछन्। सगरमाथाको र भगवान गौतम बुद्द जन्मेको देश नेपाल रहेको भन्दै बिश्व समुदायलाई चिनाउँनै यात्रा गरिरहेको यात्री द्वयको भनाई छ।

साईकल यात्री कार्की र खनालको यात्रा अनुभव

१२९ औ राष्ट्रको रुपमा स्पेन आईपुगेका साईकल यात्री कार्कीले बिश्व यात्राको क्रममा ८९ बटा देशमा नेपाली नै नभेटिएको बताउँछन्। उनि भन्छन्,”सन् २००५ ताका कम्पोडिया,भियतनाम,लाओस,ईन्ड़ोनेसिया,फिलिपिन्स,ईरान,अफगानस्थान,टर्की,सिरिया जस्ता अन्य कयौ मुलुकहरुमा नेपालीहरु नै भेटिएनन्।”

आफ्नो दुखद घटनालाई सम्झदै कार्कीले थपे,”दक्षिणी सुडानको मलकालमा झण्डा बोकेको कारणले झन्डै ज्यान नै गएन। त्यहाँ नर्थ र साउथका दुई छुट्टाछुट्टै झण्डा हुने रहेछन् ,मलाई नर्थबाट आएको जासुस भनेर साउथमा समाते,तिन दिन सम्म थुनामा राखे झन्डै गोलि हानेर मारेनन्। पछि मैले सबै कुरा सम्झाउँन सफल भए,त्यसपछि छाडीदिए अनि  बाँच्न सफल भईयो।

यस्तै अर्का साईकल यात्री खनाल मकाउमा पुग्दा लिफ्टमा साईकल अड्के पछि लडेर रक्ताम्यै भएको घटना सुनाउँछन्। खनालले भने,” ५०- ६० फिट जति लामो लिफ्ट हुँदो हो,साईकल अड्कियो,म त्यहिँ पल्टेको पल्टै भए, पछि कसरी – कसरी लिफ्ट बन्द भए पछि बाँच्न सफल भईयो,त्यतिबेला पुरै रगत नै रगत बनेको थिए।”

साईकल यात्रामा नै हुँदा पिता कृष्ण प्रसाद खनाल र माता राधा देबी खनाललाई गुमाएको पनि उनि सम्झछन्। बि.स. २०६५ सालमा पिता र  २०६९ सालमा मातालाई गुमाउँदा आँफू घर फर्केको तर १३ दिनको काम सकेर पुन: यात्रालाई निरन्तरता दिएको पनि स्मरण गरे।

सन् २०१७ सम्म सँगै यात्रा पुरा गर्छौ

एक दशक लामो साईकल यात्राको क्रममा यी दुवैले फरक फरक यात्रीहरुसँग पनि  यात्रा गरे। कहिँले काहिँ त ४ जना साईकल यात्री एउटै समुह बनाएर यात्रा गरेको पनि स्मरण गरे। उदेश्य एउटै भएका कारण एक्लै भन्दा  मिलेर यात्रा गर्दा,देख्नेलाई चासो र उत्सुकता सँगै छुट्टै आकर्षण हुने गरेको अनुभव पनि बाँडे।

१५३ देश पुग्ने लक्ष्य बोकेका यी जोडीले अब बाँकी रहेका २४ राष्ट्रहरु सँगै मिलेर नै पुरा गर्ने प्रण गरेका छन्। देशमा भुम्कप पछि पर्यटन क्षेत्रमा ठुलो असर पुगिरहेको बेला ,आँफूहरुको यात्राले पर्यटन प्रबद्वनमा पनि टेवा बिश्वास साईकल यात्री द्वयको छ।

साईकल यात्रा गर्ने क्रममा कहिँले हावा हुरी,हिमपात,चिसो गर्मी यी सबै सामान्य जस्तै बनसकेका छन् ,अब गन्तब्य धेरै टाढा छैन त्यसैले सन् २०१७ सम्म अब मिलेर नै यात्रा पुरा गर्छौ,दुवै एउटै आवाजमा सुनाउँछन्।