बार्सिलोनामा बेलायतको नौमती बाजा घन्कदै


बार्सिलोना / स्पेनमा बेलायतको नौमती बाजा घन्कने भएको छ। बार्सिलोना स्थित पर्यटकीय डाँडा टिबीदाबुमा नौमती बाजा घन्कने भएको हो। आगामी जुलाई २ र ३ तारिख “भिजिट नेपाल,रिबुल्ड नेपाल ,वुई निड नाउ मोर देन ईभर” भन्दै नेपाल महोत्सवमा नौमती बाजा सहितको कार्यक्रम आयोजना गरिदै छ।

बार्सिलोना स्थित नेपाली कन्सुलर,एनआरएनए लगायत स्पेन स्थित संघ संस्थाहरुको बिशेष पहलमा कार्यक्रम हुन लागेको हो। नेपालका लागि लामो समय देखि काम गर्दै आएका स्पेनका बिभिन्न संघ संस्थाहरुले मेलामा सहभागिता जनाउँदै छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष तथा तयारी समितिका संयोजक मुक्त बहादुर गुरुङले कार्यक्रमको तयारी तिब्र भईरहेको जानकारी दिएका छन्। नौमती बाजा सहित,बिभिन्न संघ संस्थाहरुको झाँकी,नेपाली कला र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने गुरुङले जानकारी दिए। स्थानीय कलाकारहरुले नेपाली गीत संगीत तथा नृत्यहरु प्रस्तुत गर्ने भएका छन्।

यस्तै टिसर्ट छपाईको काम सम्पन्न भएको, नेपाली जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रेले जानकारी दिए। डुम्रेले भने, “नेपाल झल्कने गरी ३ सय ५० टिसर्टहरु छपाई सम्पन्न गरेका छौ। १० युरोको दरमा हामी यसलाई बिक्रि गर्ने छौ।”

ओम प्रकाश थापा काउछा नेतृत्वमा बेलायतबाट आउँने नौमती बाजाको समुहलाई होटल बुकीङ्को काम पनि सम्पन्न भएको  डुम्रेले जानकारी दिए। आगामी जुलाई २ तारिख बिहान,१० जनाको नौमति बाजा समूह बार्सिलोना आउँदै छ।

स्टल बुकीङ्को काम सम्पन्न

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका सल्लाहकार दावा ऋषि श्रेष्ठले दुई दिने मेलाका लागि स्टल बुकिङ्को  काम सम्पन्न भएको जनाएका छन्। एनआरएन स्पेन,बुद्द फेलिज,नेपाल,नेपाल तिएर्रा दे पाथ र सुरेश भण्डारीका पेन्टीङ्हरु छुट्टाछुट्टै स्टल बनाएर राखिने भएका छन्। नेपाली हस्तकलाका सामग्रीहरु,नेपाली पहिचान झल्कने पोशाकहरु,खादा,नेपाली झण्डाहरुले स्टल सजिने भएका छन्।

गत बर्ष पनि,नेपाल प्रतिको ऎक्यबद्दता” ( सोलीडारीदाद पर नेपाल) भन्ने मूल उद्घोषकका साथ बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा एक दिने महोत्सव सम्पन्न भएको थियो।

सल्लाहकार श्रेष्ठका अनुसार ईन्टरनेशनल दोना भिदा,लाङ्टाङ् डिजास्टर, नेपाल केयर,अमिक्स डेल नेपाल र भिडा उटेल जस्ता संस्थाहरुले पनि स्टल राख्ने भएका छन्। बर्षौ देखि यी संस्थाहरुले नेपालको हितमा काम गर्दै आएका छन्।