अख्तियार प्रमुख कार्की फ्रान्स,ईटली,मोनाको हुँदै पोर्चुगलमा


बार्सिलोना / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की पोर्चुगल पुगेका छन्। फ्रान्स,ईटली र मोनाकोका उच्च पदस्थ ब्यक्तिहरुसँगको भेटबार्ता पछि  प्रमुख आयुक्त कार्की पोर्चुगल पुगेका हुन्। भ्रष्टाचार विरुद्ध कार्यरत सरकारी निकाय र सुशासन तथा विकासका क्षेत्रमा कार्यरत संस्थाका प्रमुखहरूको निमन्त्रणामा दुई साता लामो कार्कीको भ्रमण युरोपियन मुलुकहरु फ्रान्स, इटाली,मोनाको,पोर्चुगल साथै युनाइटेड अरब इमिरेट्सको रहेको छ।

दुई साता लामो सद्‍भावना भ्रमणका क्रममा प्रमुख आयुक्त कार्कीले नेपाल र युरोपियन यूनियन सदस्य राष्ट्रहरु तथा युनाइटेड अरब इमिरेट्सबीचको सम्बन्ध अझ सौहार्दपूर्ण हुने र अन्तरदेशीय भ्रष्टाचार अनुसन्धान र नियन्त्रण प्रभावकारी बन्ने अपेक्षा राखेका छन्।

प्रमुख आयुक्त कार्कीले पोर्चुलगका कोर्ट अफ अडिटरका अध्यक्ष एबं करप्सन प्रिभेन्सन काउन्सिल प्रमुख कार्लोस अन्तुनेससँग पनि शिष्टाचार भेटबार्ता गरेका छन्। लामो समयपछि नेपालबाट पोर्चुगलमा उच्चस्तरको भ्रमण भएकोमा स्वागत गर्दै कार्लोसले स्वतन्त्र निकायको हैसियतले सरकारी कार्यालयहरुमा हुने आर्थिक कारोवारहरुको अन्तिम लेखा परिक्षण र भ्रष्टाचार रोकथामको दोहोरो जिम्मेवारी र भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

भ्रष्टाचारको रोकथामका लागि जनचेतना र शिक्षामा जोड दिईएको बताउदै कार्लोसले विभिन्न तालिम, गोष्टी, सेमिनार, स्कुलका विधार्थिहरुका लागि भ्रष्टाचार विरुद्द चेतनामुलक कार्यक्रमहरु गरी प्रवर्धनात्मक कार्य गर्दै बताएको भन्दै, प्रमुख आयुक्त कार्कीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

13502569_1242599105753016_1595528529083537115_oभेटमा, प्रमुख आयुक्त कार्कीले नेपालमा भ्रष्टाचार रोकथाम तथा नियन्त्रण गर्ने संवैधानिक निकायको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको र यसले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि निरोधात्मक, प्रवर्धनात्मक र दण्डात्मक विधि अवलम्बन गर्दै आएको जानकारी दिए।

यस्तै रोजगारीको सिलसिलामा पोर्चुगलमा विभिन्न पेशा र व्यावसाय गरि बस्दै आईरहेका नेपालीहरुको हित अभिवृद्धि गर्ने तर्फ पोर्चुगल सरकारबाट आवश्यक सहयोगका लागि अनुरोध गरेको समेत कार्कीले जनाएका छन्।भेटबार्ताको क्रममा नेपाली दूताबास पेरिस  स्थित उपनियोग प्रमुख रामबाबु ढकाल,पोर्चुगलका लागि नेपाली अबैधानिक बाणिज्य दूत मगर हमाल पनि सहभागी थिए। पोर्चुगल पछि युनाइटेड अरब इमिरेट्स पुगेर प्रमुख आयुक्त कार्कीले, दुई साता लामो भ्रमणलाई टुंगाउँदै छन्।

मोनाको,ईटली र फ्रान्सका अधिकारीहरु पनि भेटबार्ता

प्रमुख आयुक्त कार्कीले मोनाको स्थित उच्च अदालतमा न्यायधिश मारिना चेयसाक, मोनाकोका मुख्य प्रशासक अनतोनिले स्याङ्पो काउमा र मोनाको सरकारका महान्याधिवक्ता हेर्भे पाईनेटसँग सामूहिकरुपमा शिष्टाचार भेटघाट एवं छलफल गरेका छन्।

भेट एवं छलफलका क्रममा उनीहरुले मोनाकोमा सरकारी वकिल, न्यायीक प्रहरी र न्यायधिश मिलेर भ्रष्टाचार विरुद्धको अनुसन्धान तहकीकात गर्ने व्यवस्था रहेको बताएका छन्। मोनाको एउटा सानो देश भएको र भ्रष्टाचारका सम्बन्धमा उजुरीहरू ज्यादै न्युन हुने गरेको वताउदै उनीहरुले आफूहरु भ्रष्टाचार र यसले देशमा पार्ने प्रभावका वारेमा सचेत रही समन्वयात्मक रुपमा कार्य गर्दै आईरहेको जानकारी दिए।

13490763_1242599342419659_3719432008287967757_oयस्तै गत साता फ्रान्सको भ्रमणको क्रममा कार्कीले पेरिसस्थित संसद भवनमा सांसद फ्राँस्वा लबोर्देसँग भेटबार्ता गरेका थिए। उनले त्यस अघि आर्थिक सहयोग तथा विकास सम्बन्धी संस्था (ओइसिडी) की उपमहासचिव तथा फिनल्यान्डकी पूर्व प्रधानमन्त्री मारी किभिनिएमीसँग भेटवार्ता गरे।

फ्रान्सेली विदेशमन्त्रालयकी महानिर्देशक आन मारी देकोतेसँग पनि कार्कीको भेटघाट तथा कुराकानी भएको जनाएका छन्। त्यसैगरी कार्कीले पेरिसस्थित भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रीय सेवा (एससिपिसी) की प्रमुख जेभियर सिमिओनीसँग भेटघाट गरे। यसैबिच प्रमुख आयुक्त कार्की पेरिस स्थित नेपाली राजदुताबासमा पुगेर,राजदूत अम्बिका मानन्धर लुईटेल,उप नियोग प्रमुख रामबाबु ढकालसँग पनि छलफल गरेका थिए।

यस्तै ईटलीको समेत भ्रमण गरेका प्रमुख आयुक्त कार्कीले त्यहाँका न्याय राज्यमन्त्री कोसिमो फेरीसँग भेटघाट गरे। न्याय राज्यमन्त्री फेरीसँग द्विपक्षीय मामिला तथा भ्रष्टाचार नियन्त्रणका विषयमा कुराकानी भएको भनी प्रमुख आयुक्त कार्कीले उल्लेख गरेका छन्।

यस्तै ईटलीका एन्टी करप्सन नेशनल अथोरेटीका अध्यक्ष राफाल्ले कानटोन्ससँग पनि रोममा शिष्टाचार भेट गरे। भेटका अवसरमा कानटोन्सले ईटलीमा सरकारी कार्यालयहरु र विशेष गरी सार्वजनिक खरिदमा हुने कारोवारहरुलाई जांचपडताल गरी पारदर्शिता कायम गर्न जोड दिईने गरेको बताए।13517397_1242599232419670_3745431955515996248_oभेटका क्रममा प्रमुख आयुक्त कार्कीले नेपालको भ्रष्टाचार नियन्त्रण सम्बन्धि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनसन्धान आयोग भ्रष्टाचारजन्य कसुर, अख्तियारको दुरुपयोग र सार्वजनिक क्षेत्रमा हुने अनियमित कार्यहरु उपर अनुसन्धान तहकिकात गरि विशेष अदालत समक्ष मुद्दा दायर गर्न सक्षम, स्वतन्त्र र अधिकारसम्पन्न रहेको जानकारी गराएका छन्।

सो अवसरमा ईटलीस्थित नेपाली कन्सुलर,जेनेभास्थित नेपाली दुतावासका प्रतिनिधि लगायत नेपाली प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो ।

तस्बिरहरु:- प्रमुख आयुक्त कार्कीको फेसबुक पेजबाट