युरो कपमा इंग्ल्याण्डको संघर्षपूर्ण जित


युरो २०१६ को दाबेदार मानिएको इंग्ल्याण्डले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । बिहिबार सम्पन्न खेलमा इंग्ल्याण्डले वेल्सलाई २–१ ले पराजित गरेको हो ।

ड्यानियल स्टरिजले इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्डलाई महत्वपूर्ण तीन अंक दिलाए । लेन्समा भएको खेलमा वेल्सले ४२ औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । उनले करिव ३० यार्ड टाढाबाट फि्रकिकमा उत्कृष्ट गोल गरे ।

तर, दोस्रो हाफको सुरुमा नै इंग्ल्याण्डले दुई महत्वपूर्ण परिर्वतन गर्‍यो । हृयारी केनको स्थानमा जेमी भर्डी र स्टर्लिङको स्थानमा स्टरेज मैदान प्रवेश गरे ।

मैदान प्रवेश गरेको ११ औं मिनेटमा नै भर्डीले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ उन्मुख भएको थियो । तर, अतिरिक्त समयको अन्तिम मिनेटमा स्टरेजले गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाएका छन् ।

जितसँगै दुई खेलबाट ४ अंक जोडेको इंग्ल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ भने ३ अंक जोडेको वेल्स दोस्रो स्थानमा छ । स्लोभाकियाको पनि समान ३ अंक छ भने रसिया एक अंकसहित पुछारमा छ ।