के आइसल्याण्डले रोक्ला त पोर्चुगललाई ?


पेरिस/ पोर्चुगल युरो २०१२ मा च्याम्पियन भएको स्पेनसँग सेमिफाइनलमा पेनाल्टी सुटआउटमा हारेको थियो । उसले समूह ‘एफ’ मा विजेता हुँदै नकआउट चरण पुग्ने योजनासहित फ्रान्समा पाइला टेकेको छ  ।

क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले सानो टिम आइसल्यान्डको सामना गर्दै युरो २०१६ को यात्रा मंगलबार सुरु गर्दैछ । यसमा माथि उठ्दै उसले चार वर्षअघि युरोपियन च्याम्पियनसिपमा सेमिफाइनल पुगेको बाटो पछ्याउने प्रयास गर्नेछ ।

आइसल्यान्डले छनोटमा नेदरल्यान्ड्सलाई हराएको थियो । त्यसैले डच टिम युरो २०१६ को छनोटमै असफल भएको थियो । तीन लाख ३० हजार जनसंख्या भएको उत्तर एट्लान्टिक द्वीपको सानो देश आइसल्यान्डले पहिलोपल्ट युरोपियन च्याम्पियनसिप खेल्न लागेको हो । जनसंख्याका आधारमा युरोपियन च्याम्पियनसिप खेल्ने सबैभन्दा सानो देश आइसल्यान्ड हो ।

चेल्सी र बार्सिलोनाका ३७ वर्षीय पूर्वफरवार्ड इडुर गुडजोन्सन संन्यास फिर्ता लिएर आइसल्यान्डको टिममा फर्किएका छन् । हाल नर्वेजियन क्लब मोल्डेमा आबद्ध भेट्रान गुडजोन्सनले आइसल्यान्डले पोर्चुगलको सामना गर्दा सपना साकार हुने बताए ।

युरोको तयारीमा पोर्चुगलले बुधबार इस्टोनियालाई ७–० ले हराएको थियो । पहिलो हाफमा मैदानमा रहेका रोनाल्डोले त्यसमा दुई गोल गरेका थिए । आइसल्यान्डका स्वीडिस प्रशिक्षक लार्स लेजरब्याकले रियल म्याड्रिडका सुपरस्टार फरवार्ड रोनाल्डोलाई चुपचाप राख्नेमा विश्वस्त भएको बताएका छन् ।

‘उनले इस्टोनियाविरुद्ध ४५ मिनेट खेलेको देखेको छु । त्यसअघि उनी बिदामा थिए भन्ने मलाई यकिन छैन । तर, उनले आफ्नो शक्ति शारीरिक र मानसिक रूपमा पुन: जागृत गरेका छन्,’ लेजरब्याकले भने, ‘उनीबाट उत्कृष्ट खेल अपेक्षा गर्न सकिन्छ तर हामीसँग होइन ।’

अल्बानियासँग पहिलो खेलमा १–० ले हारेपछि बाँकी सबै खेल जित्दै समूहको शीर्षस्थानमा रहेर पोर्चुगल छनोट भएको थियो । विंगर भिएरिन्ह स्टारको टिम पोर्चुगलले युरोपमा के गर्न सकिन्छ भनेर देखाउनुपर्ने बेला आएको बताउँछन् ।

‘हाम्रो लक्ष्य युरो २०१६ जित्ने हो भन्ने सबैलाई थाहा छ । तर, हामी तहगत रूपमा जानुपर्छ,’ उल्फबर्गका उनले भने, ‘आइसल्यान्डलाई कसरी हराउनुपर्छ भन्ने खेलाडीलाई थाहा छ । त्यसपछि अस्ट्रिया र हंगेरीलाई पनि । हाम्रो स्तरबारे जानकार छौं र यसलाई मैदानमा देखाउनुपर्छ ।’

३० वर्षीय भिएरिन्हले पोर्चुगल समूहको फेवरेट टिमलाई न्याय गर्नुपर्ने बताए । ‘हामीले तयारीमा धेरै राम्रो गरेका थियौं । त्यसैले मानिसले समूहमा हामीलाई फेवरेट मानेका छन् ।

तर, हामीले समूहमा अरू टिमभन्दा राम्रो भएको देखाउनुपर्छ,’ उनले भने । त्यसका लागि उनको टिमले सेन्ट इसेनमा आइसल्यान्डलाई नियन्त्रण गर्नुपर्छ । –  एएफपी,