फाउन्डेसन सल्लाहकारमा महजोडी नियुक्त, धुर्मुस सुन्तलीलाई साथ दिने  


युरोप भ्रमण सकेर केहि दिन मात्र नेपाल पुगेका महजोडी धुर्मुस सुन्तली फाउन्डेसनको सल्लाहकारमा बस्दै पुनर्निमाण कामलाई सघाउने भएका छन्।  वरीष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धुर्मुस सुन्तलीको प्रस्ताबलाई स्विकार गर्दै फाउण्डेशनको संस्थापक सल्लाहकार रुपमा काम गर्ने भएका हुन्।

गिरान्चौर एकिकृत बस्तीका घरहरु निर्माण भईरहंदा धुर्मुश सुन्तलीलाई देश विदेशबाट अझै सहयोग गर्न समेत महले अपिल गरेका छन्। सल्लाह दिनु भन्दा, काम गरेर देखाउनु ठूलो कुरा भएको भन्दै हाँस्य कलाकारबाटै भएको सामाजीक कामको मह जोडीले प्रशंसा समेत गरेका छन्।

युरोप भ्रमण गरेर केहि दिन अघि स्वदेश फर्किएका मह जोडीले बेल्जीयमबाट कमल भारती र साबित्रा गिरीको परिवारले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पठाएको ८ सय ५० युरो (१ लाख रुपैँया भन्दा बढी) सहयोग पनि धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् ।

यस्तै, फाउण्डेशनले सुरु गरेको गिरान्चौर एकिकृत बस्ती निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको सल्लाहकारमा भने लिलामणी पौडेल, डा. स्वर्णीम वाग्ले, रबिन्द्र मिश्र, डा.गोविन्द पोख्रेल, दिनेश थपलीया रहेका छन् ।