युरो कप उपाधि जित्ने सम्भावना कसको कति ? (बिश्लेषण)


पेरिस/ विश्व फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरो २०१६ शुक्रबारदेखि सुरु भएको छ। यही बेला कोपा अमेरिका पनि चलिरहेको छ। त्यसमा ब्राजिल र अर्जेन्टिना जस्ता विश्वकप विजेता टिम छन्। युरोपेली च्याम्पियनसिप पनि कम्तीको छैन, यसमा अझ धेरै विश्वकप विजेता छन्, जर्मनी, इटाली, स्पेन, फ्रान्सदेखि इंग्ल्यान्डसम्म। त्यसमाथि उत्तिकै नयाँ टिम र नयाँ खेलाडी सबैको आकर्षण छन्।

फ्रान्स त आयोजक नै भयो। फ्रान्सेली समर्थकले यति बेला पक्कै सन् १९९८ को विश्वकप सम्झनेछन्, जतिबेला फ्रान्सले यसको आयोजना गरेको थियो। लेस ब्लुजले त्यति बेलाको विश्वकप पनि जितेको थियो। युरोपका पारम्परिक फुटबल शक्तिमध्ये जर्मनी विश्वकपको डिफेन्डिङ च्याम्पियन हो। स्पेन दुईपल्टको युरोपेली च्याम्पियन। छनोट चरणमा इंग्ल्यान्ड, चेक गणतन्त्र र पोर्चुगलले पनि आ–आफ्नो समूह जितेका थिए।

प्रतियोगिता खेल्न लागेका नयाँ टिममा आइसल्यान्ड, उत्तरी आयरल्यान्ड, वेल्स, अल्बानिया र स्लोभाकिया छन्। सहभागी कुल २४ टिममध्ये उनीहरूले प्रतियोगितामा डेब्यु गर्दैछन्। अनि यसपल्ट छुट्ने प्रमुख टिममा नेदरल्यान्ड्स रहेको छ। सन् २०१४ को विश्वकपमा तेस्रो भएको डच टिम यसपल्ट छनोटमै असफल रहेको थियो। प्रतियोगिताको आकार बढे पनि नेदरल्यान्ड्सलाई भाग्यले साथ दिएन।
लिग चरण कस्तो हुनेछ?

युरोका छनोट आफैंमा लामो छ र यसमा सहभागी थिए, ५३ देश। छनोटका लागि २३ स्थान खुला थिए। एक स्थान आयोजकका लागि तय थियो। छनोटका खेल १४ महिना चलेको थियो। यसपल्टको युरो २०१६ मा छनोट भएका टिमलाई भने छ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार/चार टिम छन्। समूह चरणमा प्रत्येक टिमले अर्को टिमसँग खेल्नेछ। समूहको शीर्ष दुईमा रहने टिम स्वत: नकआउट चरण पुग्नेछन्।

अनि तेस्रो स्थानमा आउने उत्कृष्ट चार टिम पनि। त्यसैले लिग चरणका सबै खेल उत्तिकै महत्त्वपूर्ण हुनेछन्। तेस्रोमा रहेर पनि अन्तिम १६ मा पुग्ने टिम एक प्रकारले भाग्यमानी जस्तै हुनेछ। लिग चरणमा एक खराब खेलले पनि सम्भवत: टिमलाई नकआउट समीकरणमा फर्कन मदत गर्नेछ। फाइनल जुलाई १० मा हुनेछ, प्रसिद्ध स्टेड डे फ्रान्समा। यो फ्रान्सको राष्ट्रिय स्टेडियमको नजिकै रहेको छ।

उपाधि कसले जित्ने सम्भावना ?

उपाधि कसले जित्ने छ, भन्न सकिन्न। जर्मनीमा राम्रा खेलाडीको बाहुल्यता छ, जस्तो, म्यानुएल नोय, थोमस मुलर, मेसुट ओजिल र टोनी क्रुस। प्रशिक्षक जोचिम लोसामु पर्याप्त विकल्प छन्। फ्रान्स त आयोजक भयो नै, उसका दुई खेलाडी निर्णायक हुन सक्छन्, पउल पोग्बा र एन्टोनी ग्रिजम्यान। इंग्ल्यान्डले लामो इतिहास तयार पारिसकेको छ, खराब र निराशाजनक प्रदर्शनको। तर यसपल्ट यही टिममा केही युवा र प्रतिभाशाली खेलाडी छन्।

जस्तो म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रसफोर्ड। अनि ह्यारी केन। उनले टोटेनहमका लागि पछिल्लो सिजन २५ गोल गरे। अनि सर्वाधिक गोल गर्नेमा उनकै पछाडि रहेका लेस्टर सिटीका जेमी भार्डी पनि। यसमा बेल्जियमको नाम पनि छुटाउनुभएन। यो टिमसँग सिर्जनात्मक खेलाडी एडन हजार्ड छन्। स्पेन पछिल्लो विश्वकपमा असफल त रह्यो, तर यो टिम दुईपल्टको डिफेन्डिङ च्याम्पियन हो। सायद डार्क हर्स टिम भने अस्ट्रिया रहनेछ, फिफा वरीयताको ११ आंै स्थानमा रहेको टिम।
–साम बोर्डन, पेरिस/ न्युयोर्क टाइम्स