आजदेखि युरो कप भिडन्त


१५ औं संस्करणको युरो कप फुटबल आजदेखि सुरू हुँदैछ। फ्रान्समा हुने यो पटकको युरो कपमा पहिलो पटक २४ राष्ट्र सहभागी हुन लागेको यस पटकको युरो कपमा ५ राष्ट्रले डेब्यु गर्दैछन्। ४ वटा पूर्वविजेता देश छानिएका छन्। पूर्व विजेताहरू डेनमार्क, नेदरल्याण्ड र ग्रीस यो पटक छनोट भएका छैनन्।

आयोजक फ्रान्सको टिमले रोमानियासँग शुक्रबार खेल्दै युरो २०१६ को सुरुआत गर्दैछ ।उद्घाटन खेल नेपाली समय अनुसार राति १२ बजेर ४५  मिनेट जाँदा सुरु हुँदै छ।  यस अघि युरो कपमा १६ राष्ट्रहरु मात्र सहभागी हुने भए पनि यस पटक त्यी संख्या बढाएर २४ पुर्याईएको हो। 

फ्रान्स vs रोमानिया:-

समूह ‘ए’ को पहिलो खेल स्टेड डे फ्रान्समा हुनेछ । रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले जातीयताबाट प्रेरित भएर आफूलाई टिमबाट हटाइएको आरोप लगाएपछि ‘लेस ब्लुज’को तयारी प्रभावित भएको थियो । ‘सेक्सटेप ब्ल्याकमेल’ प्रकरणमा अर्का फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडी म्याथ्यु भल्बुएनासँगै मुछिएपछि गत वर्षको अक्टोबरयता बेन्जेमाले फ्रान्सबाट खेलेका छैनन् ।

अहिले खेलिरहेकामध्ये सर्वाधिक गोलकर्ता बेन्जेमा अल्जेरियाबाट आएका हुन् । उनले प्रशिक्षक डिडियर डेस्च्याम्प ‘जातिवादी फ्रान्सको एक पक्षको दबाबमा तानिएको’ दाबी गरेका छन् । अर्का थप, रियल म्याड्रिडमा बेन्जेमाका सहकर्मी रहेका राफेल भारानले ह्यामस्टिङका कारण प्रतियोगिता गुमाएका छन् ।

प्रशिक्षक डेस्च्याम्पका लागि रक्षात्मक विकल्पमा रहेका बार्सिलोनाका जेरेमी म्याथ्यु पनि टिमबाट फिर्ता भएका छन् । डोपिङ परीक्षणमा असफल भएपछि यूएईएफएको प्रतिबन्धमा रहेकाले लिभरपुलका मामडोउ साखोलाई टिममा समावेश गरिएको थिएन । लसाना डियारा, कुर्ट जुमा र म्याथ्यु डेबुची पनि बाहिरिए । केही साताअघिसम्म पनि डेस्च्याम्प यस्तो टाउको दुखाइबाट अनभिज्ञ थिए ।

‘मे १२ मा टिम घोषणा गरेपछि यी सबै कुरा भए, जुन मैले सपनामा पनि सोच्ने गर्दिनँ होला,’ डेस्च्याम्पले बुधबार भने । पउल पोग्बा, एन्थोनी मार्सल र एन्टोनी ग्रिजम्यानजस्ता प्रतिभावान् युवा खेलाडी भएकाले फ्रान्सले घरेलु मैदानमा विश्वकप १९९८ र युरो १९८४ को उपाधि जितेजस्तै उच्च अपेक्षा गरिएको छ ।

‘हामीलाई घरमा खेल्ने अवसर छ, जसमा दबाब हुनेछ । तर यो सकारात्मक हुनेछ,’ गोलकिपर स्टिभ मन्डालाले भने, ‘हामीलाई प्रतियोगिता राम्रो बनाउनुपर्ने जिम्मेवारी छ र लक्ष्य जित्ने नै हो ।’

एक वर्षयता दसमध्ये नौ खेल जितेको डेस्च्याम्पको टिम राम्रो लयमा छ । नोभेम्बरमा पेरिसमा भएको आतंकवादी आक्रमणमा ध्यान केन्द्रित भएका बेला इंल्यान्डसँग भएको खेल मात्र उसले हारेको थियो । पछिल्ला दुई अभ्यासका मैत्रीपूर्ण खेलमा आर्सनल स्ट्राइकर ओलिभर जिरोउले तीन गोल गरेर बेन्जेमाको स्थान लिंदा आलोचना गर्नेलाई आफ्नो कौशल देखाएका थिए ।

जिरोउसँगै प्रिमियर लिगमा यो सिजन उत्कृष्ट प्रदर्शन गरेका म्यानचेस्टर युनाइटेडका मार्सल र वेस्ट–ह्यामका डिमित्री पायटको प्रतिभाप्रति शंका गरिरहनुपर्ने ठाउँ छैन । अग्रपंक्तिबाट खेल्ने प्रतिस्पर्धामा एट्लेटिको म्याड्रिडबाट च्याम्पियन्स लिग फाइनल खेलेका ग्रिजम्यान पनि छन् । उनले यो सिजन ३२ गोल गरेका थिए ।

‘फरक किसिमका दबाब छन् तर हामी तयार छौं । हामी अघि बढ्न गइरहेका छौं,’ म्यानचेस्टर सिटीका डिफेन्डर बाकरी साग्नाले भने, ‘युवा खेलाडीले यो बेला केही नसोची खेल्छन् । उनीहरूलाई कुनै किसिमको डर हँुदैन र क्लबसँग खेलेजस्तै खेल्नेछन् ।’

फ्रान्सको फरवार्ड लाइन युवा र छरिता खेलाडीले आकर्षक छ । पछाडि पनि अनुभवी खेलाडीको अपेक्षा गरिएको छ । यसमा ३० औं वर्षमा रहेका साग्ना,  लाउरेन्ट कोसिल्नी, अदिल रामी र प्याट्रिस एभरा हुनेछन् ।

आठ वर्षयता पहिलोपल्ट प्रतिष्ठित प्रतियोगितामा सहभागी रोमानिया मजबुत डिफेन्सको साथमा ठूलो आश्चर्य दिन चाहन्छ । उसले छनोटमा डिफेन्सको सबभन्दा राम्रो तथ्यांक बनाएको थियो । छनोटको समूह ‘एफ’मा उत्तरी आयरल्यान्डभन्दा पछाडि रहेको आंगेल योर्गानेस्कुको टिमले १० खेलमा दुई गोल मात्र बेहोरेको थियो । उसले युरोपेली च्याम्पियनसँग मार्चमा पनि गोलरहित बराबरी खेलेको थियो ।

वर्षौंअघि जर्ज हाजी अथवा एड्रियन मुटुको जस्तै स्टारको कौशलता गुमाइसकेको रोमानिया गोलका लागि भने संघर्षरत् नै थियो । उसले छनोटमा ११ गोल गरेको थियो । उसले अल्बानिया र स्वीट्जरल्यान्डलाईजस्तै आयोजकलाई पनि निराश बनाउन सक्छ । ‘फ्रान्स दबाबमा हुनु ठूलो हो । हामीले बराबरी गर्नसके पनि विशेष हुनेछ । जित्नसके धेरै आकर्षक,’ फ्रान्सको नान्टेसबाट खेलेका रोमानियाका सहायक प्रशिक्षक भियोरेल मोल्दोभानले भने ।- एएफपी, पेरिस