सन् २००० पछि,धनी खेलाडीहरुको शीर्ष स्थानमा, फुटबल खेलाडी


सन् २००० देखि लगातार धनी खेलाडीहरुको शीर्ष नम्बरमा रहेका, गल्फका टाइगर वुडस् र बक्सर फ्लोइड मेवेदर जुनियरलाई पछि पार्दै,सन् २०१६ मा भने फुटबल खेलाडी शिर्ष स्थानमा परेका छन्। गल्फका वुड्स १२ पटक शीर्ष स्थानमा रहे भने फ्लोइड मेवेदर चार पटक शीर्ष स्थानमा परे।
 
यी दुवै जनाको किर्तिमानी रेकर्ड पछि सन् २०१६ मा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले तोड्न सफल बनेका छन्। अमेरिकी पत्रिका फोर्ब्सले निकालेको धनी स्टार खेलाडीहरुको सूचीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् भने बार्सिलोनाका मेस्सी दोस्रो स्थानमा परेका छन्। तर, १६ बर्ष सम्म राज गरेका बुड्स र मेवेदर यो पटक शिर्ष १० स्थानमा पनि अटाएका छैनन्।

फोब्स पत्रिकाको सूचीमा रोनाल्डो ८८ मिलियन अमेरिकी डलरसहित सर्वाधिक पारिश्रमिक पाउने खेलाडीको अग्रस्थानमा रहेका हुन्। मेस्सी ८१.४ मिलियन अमेरिकी डलरसहित दोस्रो स्थानमा रहँदा अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्स ७७. २ मिलियन अमेरिकी डलर पारिश्रमिकसहित तेस्रो स्थानमा छन्।

त्यस्तै टेनिस स्टार रोजर फेडेरर ६७.८ मिलियन अमेरिकी डलरसहित चौथो स्थानमा रहँदा केभिन डुरान्ट ५६.२ मिलियन अमेरिकी डलरसहित पाँचौ स्थानमा रहेका छन् । सन् २०१५ मा फोब्सले सार्वजनिक गरेको सूचिमा ७९.६ मिलियन अमेरिकी डलरसहित सूचिको तेस्रो स्थानमा रहेका रोनाल्डो यो वर्ष शीर्ष स्थानमा रहेका छन्।

बेला बेलामा खेलाडीहरुको फरक फरक तथ्याङ्क सहित खेलाडीहरुको कमाई सार्बजनिक हुने भए पनि धेरैले अमेरिकी पत्रिका फोर्ब्सलाई नै आधार मानेको पाईन्छ।