लेखा तथा उद्घोषण तालिम शुभारम्भ


पोखरा । टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० को आयोजनामा पोखरा उपमहानगरपालिका कार्यालयको सहयोगमा आयोजित टोल विकास संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने लेखा तथा उद्घोषण तालिमको ब्रह्माकुमारी राजयोग प्रशिक्षण विश्वविद्यालय रामबजारको प्राङ्गणमा शुभारम्भ गरिएको छ ।

प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका बरिष्ठ अधिकृत ओमराज पौडेलले तालिमको शुभारम्भ गर्दै टोल बिकास संस्थाद्वारा आयोजित लेखा व्यवस्थापन तथा उद्घोषण तालिम हरेकको मानव जीवनमा आवश्यक पर्ने भएको र घरपरिवार, श्रीमान् श्रीमती, बाबुछोरासँग समेत आर्थिक पारदर्शीता ल्याउन तालिमे सघाउने बताउदै संघसंस्थालाई राम्रो र नराम्रो छुट्याउन लेखा व्यवस्थापन राम्रो भएमा राम्रोमा गनिने भएकोले यस तालिमको सफलताको शुभकामना दिए ।

तालिमको उद्घाटन सत्रमा टोल विकास संस्था महिला समूह र राजनीतिक संयन्त्र लगायत ८० जनाको उपस्थिति रहेको उक्त तालिममा ६० जनाले तालिम लिने कार्यक्रम संयोजक एवं वडा समन्वय समिति वडा नं. १० का सचिव किरण भट्टचनले जानकारी दिए ।

कार्यक्रममा ब्रह्माकुमरी राजयोग प्रशिक्षण विश्वविद्यालयकी संचालक गोमा दिदी, वडा नं.१० का सचिव नवराज थापा, नेपाली काँग्रेस वडा नं.१० का सभापति कृष्ण बहादुर थापा, संघीय समाजवादी पार्टी १० का इन्चार्ज कृष्ण बहादुर गुरुङ्ग, राष्ट्रिय जनमोर्चाका वडा इन्चार्ज जयराम आचार्य, नागरिक मञ्च वडा नंं१० का संयोजक हिमालय बख्रेल, टोल विकास संस्था नगर समन्वय समितिका सचिव एवं वडा नं.१५ का अध्यक्ष प्रकाश पौडेल, पारालिगल वडा कमिटी १० का अध्यक्ष अनिता तिमिल्सिना, वडा महिला समन्वय समिति १० का सचिव निर्मला कार्की भण्डारी, श्रीकृष्ण मन्दिर आमा समूहका अध्यक्ष मिना भण्डारी लगायतले आ–आफ्नो विचार राख्दै टोल विकास संस्थाले व्यवस्थापन गरेर सिकेका यस्ता तालिमपश्चात व्यवहारमा लागू गर्नुपर्ने बताए ।

तीन दिने लेखा तथा उद्घोषण तालिममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका लेखा अधिकृत लक्ष्मण कोइराला र गण्डकी टेलिभिजन पोखराका पत्रकार घनश्याम पाण्डेले मानिसले बोल्ने कलासँगसँगै हिसाब किताब दुरुस्त राख्नु अति आवश्यक रहेको बताए ।

टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत माछापुच्छे टोल विकास संस्थाका अध्यक्ष एवम् वडाका सदस्य नरहरि पनेरु र कार्यक्रमको संचालन सचिव किरण प्रसाद भट्टचनले गरेका थिए ।