एनआरएन र युएन वुमनबीच सहकार्य जारी


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र युएन वुमनबीच लैगिंक समानता तथा महिला सशक्तीकरणमा सहकार्य जारी रहने भएको छ । यसका लागि आज दुई संस्थाबीच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।

नेपाल भित्र र विदेशमा रहेका महिलाहरुको हकहितलाई सम्वर्द्धन र प्रवर्द्धन हुने गरी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा एनआरएनए र युएन वुमनवीच मंगलबार हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा युएन वुमनका प्रतिनिधि जियाद शेख र एनआरएनका अध्यक्ष शेष घलेले हस्ताक्षर गरे । यसअघि पनि दुई संस्थाले यस्तै समझदारी गरेर काम गरेका थिए ।

सम्झौतापत्रमा दुवै संस्थाले भूकम्पपछिको पुनर्निर्माणका क्रममा लाप्राकलाई महिला मैत्री नमूना गाउाका रुपमा विकास गर्ने, महिलाहरुलाई सुरक्षित रुपमा विदेश पठाउने वातावरण तयार गर्ने र विदेशमा पनि त्यसका लागि एनआरएनएले भूमिका खेल्ने र महिलाहरुले विदेशमा आर्जेका ज्ञान र अनुभवको नेपालमा सदुपयोग गर्न प्रेरणादायी भूमिका निर्वाह गर्ने उल्लेख छ ।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष घलेले नेपालमा भूकम्पपछिको राष्ट्र पुनर्निर्माणको समयमा महिलाको सशक्तिकरणको पाटोलाई पनिसँगसँगै अघि बढाउनुपर्ने बताए । उनले महिलाहरु अझै पनि मूलधारमा आउन नसकेको भन्दै युएन वुमनसँग एनआरएनएको सहकार्यले राम्रो परिणाम दिने विश्वाश व्यक्त गरे ।

घलेले महिलालाई बसल बनाउन परिवार, समाज र राज्यको आ-आफ्नै भूमिका हुने भन्दै सबैले एकैसाथ प्रयत्न गर्नुपर्ने बताए । ‘महिला सशक्तिकरणको लागि संघले समन्वयात्मक भूमिका निर्वाह गरी महिलालाई समान अवसर प्रदान गर्न मद्दत गर्नेछ’ उनले भने ।

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीले महिला सशक्तिकरणमा लागि भएका सबै प्रयासको सरहना गर्दै सरकारले महिलालाई सबै पक्षबाट पुरुष सरहको बनाउन प्रयास गरिरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त कृष्णहरि बासकोटाले समाजमा महिलाहरुले अझै पुरुष सरह अधिकार र ब्यवहार नपाएकाले सञ्चार र सूचनाका माध्यमबाट जागरणको काम गर्नुपर्ने धारणा राखे ।