बाबा आमाको स्मृतिमा गुम्बा निर्माणको लागि १० लाख सहयोग


पोखरा । पोखरा १०, रामघाटस्थित बौद्ध अर्घौं सदन परिसरमा निर्माण हुन गईरहेको आधुनिक तथा सुविधायुक्त बहुउद्देश्यीय नयाँ गुम्बा निर्माणको लागि अर्थ संकलन गर्ने क्रममा स्वदेश तथा विदेशमा रहनुभएका विभिन्न महानुभावहरुबाट समूहगत तथा व्यक्तिगत रुपमा सहयोग गर्ने क्रम जारी रहेको छ ।

यसै क्रममा कास्की लुम्ले गा.वि.स.२, पात्लेखेत पुरानो घर भै हाल पोखरा १०, अमरसिंहचोक, भानु मार्ग निवासी स्वर्गिय लेप्टेनेण्ट धनबहादुर गुरुङ र स्वर्गीय भाईसुवादेवी गुरुङको स्मृतिमा परिवारजनले १० लाख रुपैया गुम्बा निर्माणका लागि सहयोग गरेको हो ।

आफ्ना बाबा आमाको स्मृतिमा जेठा छोराबुहारी सुवेदार विजय कुमार गुरुङ, मिना गुरुङ, कान्छा छोराबुहारी डब्लु ओ टु ईन्द्रकुमार गुरुङ, लिलादेवी गुरुङ, जेठी छोरी ज्वाँई डा.देवी गुरुङ, डब्लु ओ टु देउकाजी गुरुङ र कान्छी छोरी गंगा गुरुङको तर्फबाट नयाँ गुम्बा निर्माणको लागि संयुक्त रुपमा उक्त रकम सहयोग गरेका हुन् ।

स्वर्गिय आमा भाईसुवादेवी गुरुङको स्वर्गरोहण भएको वषर््ादिन पुगेको पुण्य तिथीको अवसरमा सहयोगदाताहरुको परिवार लगायत आफन्तजनहरुले शुक्रवार बौद्ध अर्घौं सदन गुम्बामा आउनु भई स्वर्गबासी आमा र बाबाको स्मृतिमा धर्मगुरुहरुबाट बौद्ध धार्मिक परम्परा अनुसार पूजापाठ तथा दिप प्रज्वलन गरी सदनका कोषाध्यक्ष बिल बहादुर गुरुङ र प्रस्तावित नयाँ गुम्बा निर्माण अर्थ संकलन उप–समितिका सदस्य लक्षिनसुवा गुरुङ (टुल्कु आमा) लाई उक्त सहयोग राशी १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा सदनका सदस्य लालकुमारी गुरुङले सहयोगदाताहरुलाई खदा लगाई स्वागत सम्मान गर्नुको साथै सचिव तथा कार्यक्रम संचालक मोती प्रसाद गुरुङले उहाँहरुको सहयोगको उच्च कदर तथा मूल्यांकन गर्दै हार्दिक धन्यवाद ज्ञापन गरे ।

धन्यवाद कै क्रममा सचिव गुरुङले धनको साथमा मनका पनि धनि भएका सहयोगदाता गुरुङका परिवारले यस सदनको लागि आज मात्रै नभई विगतका दिनहरुमा पनि पटक पटक यसरी आर्थिक र भौतिक सहयोग गर्दै आउनुभएको कुरा औल्याउँदै यहाँहरुकै सहयोगबाट चित्ता स्थल जाने बाटोमा बलियो र आकर्षक चौताराको निर्माण गरि शवयात्रामा गएर आउने शवयात्रीहरुलाई बल विसौना सहज बनाएको छ भने साउण्ड सिस्टम प्रदान गर्नु भई सदनबाट आयोजना गरिने पितृ कर्मकाण्डहरु तथा विभिन्न धार्मिक कार्यक्रमहरु संचालन गर्न सहज भएको छ भन्ने जानकारी गराउँदै यस पुण्य कार्यबाट दिवंगत बाबा आमाले चिरशान्ति पाउन र सुखवती भुवनमा बास होस् भन्दै सहयोगदाताहरु सवैको परिवारमा सुखशान्ति, समृद्धि तथा दिर्घायूको कामना गरे।

गुम्बा निर्माणका लागि विभिन्न समाज र महानुभावहरुबाट नगद तथा भौतिक दानसहित गरेर करिब ७ करोड संकलन भएको सदनले जनाएको छ । नयाँ गुम्बा निर्माणका लागि करिब १० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

वार्षिक पुण्य स्मृति कै अवसरमा सहयोगदाताहरुको परिवारले सदनकै प्राङ्गणमा सहभागी सम्पूर्ण महानुभावहरुलाई बि.एम.आई तथा ब्लड प्रेसर चेक जाँच गर्नुको साथै स्वस्थ्य सम्वन्धि परामर्श दिने कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा १२० जनाले स्वास्थ्य परिक्षण एवं स्वाथ्य सेवा प्राप्त गरेका थिए । उक्त कार्यक्रममा एस एण्ड एस कम्प्लेस, न्यूरोडमा अवस्थित एडभान्स पोली क्लिनिक, पोखरा शाखामा कार्यरत २ जना स्टाफ नर्स अपना गुरुङ र सुनिता गुरुङले सेवा प्रदान गरेका थिए ।