विमानस्थल निर्माण तयारीका लागि,१३ चिनियाँ इन्जिनियर पोखरामा


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारीका लागि चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सिएएमसिई) को प्राविधिक टोली पोखरा आइपुगेको छ ।

सिएएमसिईका प्रोजेक्ट म्यानेजर जेरी याङको नेतृत्वमा आएको टोली र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयबीच शुक्रबार पूर्व तयारी थाल्ने बारे संयुक्त बैठक सम्पन्न भएको छ । प्राविधिक टोलीमा लजिस्टिक अफिसर, इन्जिनियर र सर्भेयरसहित १३ जना छन् ।

टोलीले शुक्रबारदेखि नै तयारीको काम थालेको छ । टोलीले विमानस्थल निर्माणमा खटिने कर्मचारी, मजदुरका लागि आवश्यक अस्थायी कार्यालय, आवास भवन, खानेपानी बोरिङ, सामान भण्डारण स्थल, आदिको निर्माण गर्ने छ । बिजुली, पानी, टेलिफोन लगायत पूर्वाधारको बन्दोबस्तीका लागि आवश्यक संयोजन विमानस्थल आयोजना कार्यालयले गर्ने छ ।

प्रोजेक्ट म्यानेजर जेरी याङले विमानस्थल निर्माण कार्य सुरु गर्नु अघि पूर्व तयारी गर्ने टोलीको मुख्य उद्देश्य भएको बताए । उनले तयारीको कार्य सुरु भइसकेको बताउँदै छिट्टै विमानस्थल निर्माण पनि सुरु गर्ने आशा व्यक्त गरे । याङले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यमा विमानस्थल निर्माण सुरुवातको लागि प्रक्रिया पूरा गर्ने बताए ।airport-2-358x300

‘क्यानले सूचना गर्ने बित्तिकै हामीले निर्माण कार्य सुरु गर्न सक्दैनौं,’ उनले भने, ‘हामीलाई अग्रिम तयारी चाहिन्छ, जुन अहिले गरिरहेका छौं ।’ निर्माण सुरुवातका लागि सिएएमसिई, क्यान र आयोजना कार्यालयबीच थुप्रै प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै याङले विमानस्थल परिसरमा कार्यालय स्थापनाका लागि टोलीले विस्तृत छलफल गरिरहेको जानकारी दिए ।

उनले क्यानले विमानस्थलको डिजाइन अनुमोदन गर्ने बित्तिकै निर्माण कार्य सुरु हुने बताए । याङले जुन महिनाभित्रै चाइनाबाट विशेषज्ञको टोली क्यानसँग डिजाइनको बारेमा विस्तृत छलफल गर्न नेपाल आउने जानकारी दिए । ‘हामी चाँडै निर्माण सुरु गर्न चाहन्छौं,’ उनले भने, ‘डिजाइनको ड्राफ्ट रिपोर्ट बनिसकेको छ, कहिलेदेखि सुरु गर्ने भन्ने क्यानको डिजाइन अनुमोदन र सहायतामा भर पर्छ ।’ टोलीले विमानस्थलको बाउन्ड्रि सर्भे पनि गर्ने बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रदीप अधिकारीले पूर्व तयारीका लागि आएको सिएएमसिईको टोलीलाई आवास भवन, बोरिङ, डोजर, लोडर लगायत मेसिन पार्किङ स्थल छुट्याइसकेको बताए । उनले यो वर्षात सकिने बित्तिकै निर्माण सुरु हुने जानकारी दिए ।

अधिकारीले ‘मुआब्जाको काम ९५ प्रतिशत सकिएको छ,’ उनले भने, ‘यो आर्थिक वर्षमा ९५ प्रतिशतलाई बढाउने कोसिस गर्छौं ।’ कतिपय जग्गाधनी विदेशमा भएको, स्वामित्वमा विवाद भएको र बैंकमा रोक्का भएकोले मुआब्जा वितरण पूरा नभएको उनले बताए । अधिकारीले भने, ‘ती बाहेक अरु हामी सकाउने कोसिस गर्छौं । तिनिहरुको हकमा अर्को वर्ष सञ्चित कोषमा लगेर पैसा राखिदिन्छौं ।’

नेपाल सरकार र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भइसके पनि क्यान र अर्थ मन्त्रालयबीच ऋणको सहायक सम्झौता हुन बाँकी छ । विमानस्थलको गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

विमानस्थल निर्माणका लागि ४० वर्षअघि जग्गा अधिग्रहण गरिएको थियो । त्यतिबेला अधिग्रहण गरिएको ३ हजार १ सय ६ रोपनीले नपुगेपछि पुन थप ६ सय २९ रोपनी जग्गा सरकारले लिइसकेको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला र चिनियाँ समकक्षी ली खछयाङबीच पोखरा विमानस्थल निर्माणका लागि चैत ८ गते ऋण सम्झौता भएको थियो । चीनले यो विमानस्थलका लागि सहुलितपूर्ण ऋण दिँदैछ ।

सरकारले इपिसी मोडेलमा २१ करोड ५० लाख अमेरिकी डलर(२१ अर्ब रुपैयाँ) मा निर्माण सक्न ठेकेदार कम्पनी सिएएमसिईलाई जिम्मा दिएको हो ।

डिजाइनबाहेक गरी ३ वर्षमा विमानस्थल निर्माणको सहमति प्राधिकरणले चिनियाँ कम्पनीसँग गरेको छ । इपिसी मोडलमा निर्माण हुने विमानस्थल पूरा भएपछि नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण हुन्छ । यसमा निर्माण कम्पनीले कुनै पनि बाहनामा मूल्यवृद्धि गर्न पाउँदैन । विमानस्थल निर्माणपछि बोइङ ७५७, एयरबस ३२० लगायत जहाज पोखरामा अवतरण हुन सक्नेछन् । यात्रुका रुपमा वार्षिक १० लाख पर्यटक थेग्न सक्नेछ भनी पोखराबाट प्रकाशित समाधान दैनिकमा खबर छ।