बेलायतको हेल्प नेपाल फाउण्डेशनले धुर्मुस सुन्तलीलाई २० लाख सहयोग गर्ने


लण्डन/ धुर्मुस सुन्तली फाउण्डेशनलाई अहिले सम्मकै सबै भन्दा बढी एकमुष्ट २० लाख रुपैयाँ प्राप्त हुने भएको छ। बेलायतको हेल्प नेपाल फाउण्डेशनले २० लाख रुपैयाँ एकमुष्ट सहयोग गर्ने घोषणा गरे पछि रकम प्राप्त हुने भएको हो।

२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि स्थापना भएको फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २० लाख रुपैयाँ सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तलीलाई प्रदान गर्ने भएको हो।

भूकम्प पिडितलाई राहत र पुनर्निर्माणमा सघाउने उद्देश्यले संकलन गरिएको रकम धुर्मुस सुन्तलीमार्फत पीडितसम्म पुर्याउन चाहेको हेल्प नेपाल फाउण्डेशनले जनाएको छ । धुर्मुस सुन्तली  फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकीकृत बस्ती निर्माणमा रकमको आवश्यकता देखिएकाले यो निर्णय गरिएको फाउण्डेशनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । घोषणा गरिएको सहयोग जतिसक्दो छिटो नेपाल पठाइने हेल्प नेपाल फाउण्डेशनले जनाएको छ।