पोर्चुगलमा निधन भएका श्रेष्ठको शबलाई, नेपाल पठाउँन,रकम संकलन गरिदै


बार्सिलोना / पोर्चुगलमा उपाचारका क्रममा ज्यान गुमाएका जनकलाल श्रेष्ठको शब नेपाल पठाउँन सहयोगको अपिल गरिएको छ। नुवाकोट स्थायी घर भएका ३९ बर्षिय श्रेष्ठको शब ब्यबस्थापनका लागि रकमको आबश्यक भएकाले यस्तो अपिल गरिएको हो।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आह्व्वानमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बैठकले,शब ब्यबस्थापन तथा रकम संकलनका लागि समिति गठन गरेको। संघका अध्यक्ष भिम केसी कमलको संयोजकत्वमा पोर्चुगलस्थित संघसंस्थाका अध्यक्षहरु, समाजसेवी, ब्यबसायी , शुभचिन्तकहरु सम्मिलित समिती गठन गरेको हो।

यस्तै लक्ष्मी प्रसाद सापकोटाको संयोजकत्वमा बैधानिक प्रक्रिया निर्क्यौल समिती तथा रुपक श्रेष्ठको संयोजकत्वमा पारिबारिक समन्वय समिती गठन गरि कार्यारम्भ गरिएको संघले जनाएको छ। संघको कार्यालयमा शुक्रबार बसेको आकस्मिक बैठकले स्वर्गीय श्रेष्ठको परिबारको चाहना र सहभागितामा शव दाहसंस्कारको निम्ति नेपाल पठाउने निर्णय गर्दै स्वेच्छिक आर्थिक सहयोग गर्न अपिल समेत गरेको छ।

बैठकले यस्ता आपतकालीन समयमा सहयोग पुर्याउन आकस्मिक कोषको स्थापना गर्ने र शव ब्यबस्थापनबाट बचत भएको रकम, सोहि कोषमा जम्मा गरि स्थायी प्रकृतिको कोषको अबधारणा अगाडि बढाउने निर्णय गरेको छ। आगामी मंगलबार ४ बजेसम्म यथासक्य सहयोग गर्न, पोर्चुगलबासी नेपाली समुदायलाई अनुरोध गरिएको छ।

बिगत १ बर्ष देखि पोर्चुगलको तोरेस भेर्देसमा बसोबास गर्दै आएका श्रेष्ठ कलेजो संक्रमणको रोगबाट पिडित थिए। लिस्बन स्थित करि काब्राल अस्पतालमा उपचारको क्रममा उनको बिहिबार असामयिक निधन भएको थियो।

श्रेष्ठको सम्झनामा १३ औ दिनसम्म एनआरएन पोर्चुगलको कार्यालयमा शोक पुस्तिका राखिएको जनाउँदै, इच्छुकले शोक पुस्त्तिकामा आफ्नो शोक सन्देश प्रकट गर्न सकिने अध्यक्ष भीम केसी कमलद्वारा जारी गरिएको अपिलमा उल्लेख छ।