कोपनहेगन म्याराथन पुरा गरे,नेपाली दम्पत्तिले


कोपनहेगन /  बिगत ९ बर्ष देखि डेनमार्कमा बस्दै आएका एक नेपाली दम्पत्तिले आईतबार कोपनहेगन म्याराथनमा भाग लिई निर्धारित दुरी पार गरेका छन्। काठमाडौ कपन घर भएका दम्पती मनोज दाहाल र मेन्दो लामाले निर्धारित ४२.१५९ किलोमिटर दुरीलाई पार गर्न सफल भएका हुन्। मनोजले ५ घण्टा नौ मिनेट २७ सेकेन्ड र मेन्दोले ५ घण्टा नौ मिनेट २९ सेकेन्डको समय लगाएर  दुरी पुरा गरेका हुन्। सन् २०१२ र २०१३ मा म्याराथुनमा भाग लिएर यस अघि पनि  मनोज सफल बनेकाथिए । कोपनहेगन म्याराथुनमा भाग लिने पहिलो नेपाली उनि नै हुन् ।

मेन्दोले भने कोपनहेगनमै भएको हाफ म्याराथुनमा ( २१.१ किलोमिटर दुरी ) ४ पटक  र सन् २०१४ मा (पुरा) म्याराथुन दौडमा सफल बनेकी थिईन्। कोपनहेगन म्याराथुनमा भाग लिने उनि नै पहिलो नेपाली महिला हुन् ।

13293075_1421573071192533_87614359_n-2“नेपाल घुम्नका लागि सुरक्षित छ” भन्दै पर्यटन प्रबद्दनका लागि संसारभरका नेपालीहरु जुटीरहेका बेला यी दम्पत्तिले पनि म्याराथुन दौड पुरा गर्दै नेपाली झण्डा फहराएका छन्। कोपन्हेगनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले, “रन फर नेपाल” नारासहित टेलेनोर कोपन्हेगन म्याराथनमा सहभागी बन्न दम्पत्तिलाई सहयोग तथा समन्वय गरेको थियो।

उनिहरुलाई हौसला प्रदान गर्न,नेपाली दूतावासका कार्यबहाक राजदूत रामकाजी खड्का, डेनमार्कका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोमनाथ सापकोटा,लगायत डेनमार्क स्थित नेपालीहरुको समापन स्थलमा बाक्लो उपस्थिति रहेको थियो। ९१ देशका ९ हजार ३ सय ८० जना सहभागी म्याराथनमा इथियोपियाका अस्चालिउ बिरु हुन्देले सबैभन्दा कम समय लगाएर २ घण्टा २० मिनेट ४७ सेकेन्डमा निर्धारित दुरी पुरा गरेका छन् ।