नयाँ बर्षमा ओली र पंगेनीले रसिया थर्काउँदै


बार्सिलोना/ अफ्रिकामा समेत पुगेर सांगीतिक कार्यक्रममा सहभागी बन्दै चर्चा कमाएकी चर्चित लोक गायिका कोमल ओली रसिया पुगेकी छन्। मस्कोको जनमैत्री विश्वविद्यालयको इन्टर क्लवमा आयोजना हुने कार्यक्रममा सहभागी बन्न गायिका ओली मस्को पुगेकी हुन्।

नयाँ बर्षको अबसर सँगै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाले आईतबार कार्यक्रमको आयोजना गर्न लागेको हो। लोक गायिका ओलीका साथमा चर्चित गायक बद्री पंगेनीले पनि आफ्नो प्रस्तुति राख्दै छन्।

नयाँ बर्षको अबसरमा प्रबासका नेपालीहरु माँझ गित संगीत प्रस्तुत गर्न पाउँदा निकै उत्साहित र खुशी लागेको बताउँदै ओली भन्छिन्,”अहिले झनै खुशी छु किनकी रसियामा मेरो पहिलो कार्यक्रम हो।”

चाहे तीज होस् वा तिहार,दशै होस् वा नयाँ बर्ष बिश्वभर रहेका नेपालीहरु माँझ पुगेर नेपाली संगीतलाई सुनाउँदै आएकी गायिक ओलीको प्रस्तुति हेर्न रसियामा रहेका नेपालीहरु पनि उत्साहित बनेका छन्। नयाँ बर्ष साँस्कृतिक कार्यक्रममा सहभागी बन्न संघले रुसबासी नेपालीहरुलाई अनुरोध गरेको छ।

यसैबिच समारोहमा फुल कुमारी महतो छात्रवृति प्रदान तथा जन मैत्री पत्रिकाको नयाँ अंक लोकार्पण हुने कार्यक्रम रहेको एनआरएनए रसियाका महासचिव डा. मन मुर्ति भुर्तेलद्वारा जारी सूचनामा जनाईएको छ।

कार्यक्रमबारे पूर्ण बिबरण:-

मिति: १७ अप्रिल, २०१६, आइतबार
समय : १४:०० देखि २०:३० (दिउसो २ बजे देखि साँझ साढे आठ बजे सम्म)
स्थान : इन्टर क्लब, जन मैत्री बिश्व बिद्यालय, मस्को
आयोजक:-गैर आबाशिय नेपाली संघ, रुस रास्ट्रिय समन्वय परिषद