नेपाल महोत्सवका लागि बेल्जियममा भव्य तयारी


– बिष्णु सापकोटा
बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा आगामी आइतबारका दिन लुभेन शहरमा एकदिने नेपाल महोत्सव आयोजना गरिने भएको छ ।
महोत्सव वेल्जियममा स्थापित वैचारिक, जातिय, सामाजिक तथा क्षेत्रीय झन्डै चार दर्जन संघ-संस्थाहरुको सयुक्त सह-आयोजनामा हुने महोत्सवको संरक्षकत्वको भूमिकामा नेपाली दूतावास व्रसेल्स रहेको छ।

नेपाल महोत्सवका लागि वेल्जियम नेपाल लगाएत अन्य मुलुकका कुटनैतिक, राजनैतिक, सरकार एवं संसदका प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको छ । वेनलक्सका लागि राजदूत राममणी पोखरेल, लुवेन नगरपालिकाका मेयर लुईस तोवाक, गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले, वेल्जियम एवं नेपालका संसद सदस्यहरुको सहभागिता हुने छ ।

वेल्जियममा सक्रिय राजनीतिक दल र तिनका केन्द्रीय नेता तथा संसदहरुको बिशेष उपस्थिति रहने बताइएको छ । वेल्जियम बाहिरका मुलुकहरुवाट समेत गैरआवासीय नेपाली संघका अभियानकर्ताहरु आउने समेत आयोजकलाई जानकारी गराइसकेको अध्यक्ष गंगाधर गौतमले बताए ।

महोत्सवमा बेलायतबाट आउने नेपाली नौमती बाजा मुख्य आकर्षण रहने बताइएको छ । महोत्सव उदघाटन पूर्व बिहान एघार बजे नेपाली नौमती वाजा गाजा, नेपाली कला-संस्कृति भेष-भुषा झल्कने झाँकी सहित मार्च पास गर्दै विश्व शान्तिको कामना गरिने कार्यक्रममा रहेको छ ।

महोत्सवमा नेपाली कला संस्कृति, नेपाल पर्यटन सम्वन्धि जानकारी, नेपाली हस्तकला प्रदर्शनी, नेपाली उत्पादन, नेपाली खाना बिक्री वितरण साथै नेपाल र नेपालीलाई यूरोप तथा विश्व सामू चिनाउने महोत्सवको मुख्य उद्देश्य छ ।