भूपू खेलाडी मञ्चको चित्रकला प्रतियोगितामा दराई प्रथम


पोखरा । अप्रील ६, अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार पोखरामा भूतपूर्व खेलाडी मञ्चद्धारा आयोजित खुल्ला चित्रकला प्रतियोगितामा पोखरा ५ मालेपाटनका गोपाल दराई प्रथम हुनुभएको छ ।

समृद्धि र शान्तिका लागि खेलकुद शीर्षकमा आयोजित चित्रकला प्रतियोगितामा कसमस इन्टरनेशनल कलेजका विजय गुरुङ दोश्रो, कसमसकै दिवान गुरुङ तेश्रो र पोखरा १८ खाल्टे मसिनाका देवेन्द्र गुरुङ सान्त्वना स्थान हासिल गर्नुभएको निर्णायक समितिका सदस्य सुर्य बराईलीले जानकारी दिनुभयो ।

चित्रकलाको निर्णायक समितिमा सिर्जनशील कलाकार समुहका अध्यक्ष विश्वराज पराजुलीको संयोजकत्वमा सुर्य बराईली र मनोज तामाङ सदस्य रहनु भएको थियो ।

सिर्जनशील कलाकार समुहको सहयोगमा महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा सम्पन्न प्रतियोगिताको विजेताले ५ हजार, दोश्रोले ३ हजार, तेश्रोले २ हजार र सान्त्वनाले १ हजार रुपैयासहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुने मञ्चका कार्यवाहक अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

१५ देखि २५ वर्ष उमेर समुहका ३० जना प्रतियोगी सहभागी रहेको उक्त प्रतियोगिताका विजेतालाई भूपू खेलाडी मञ्चको स्थापना दिवस बैशाख ८ गते आयोजना गरिने सञ्चारकर्मी विच ५ किलोमिटर दौड प्रतियोगिताको समापनसँगै पुरस्कार वितरण गरिने कावा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यस अघि प्रतियोगिताको प्रमुख अतिथिद्वय राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य फत्तबहादुर गुरुङ र बरिष्ठ कलाकार गोपाल श्रेष्ठले चित्र बनाउदै उद्घाटन गर्नुभएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य फत्तबहादुर गुरुङले प्रतियोगिताको शुभकामना व्यक्त गर्नुहुदै अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भूपू खेलाडी मञ्चद्धारा समृद्धि र शान्तिका लागि खेलकुद शीर्षकमा आयोजित खुल्ला चित्रकला प्रतियोगिताले खेलकुदको महत्वको प्रचार, कलाकारहरुको प्रतिभा प्रष्फुटन गर्ने अवसर र समग्र पोखराको विकासका लागि टेवा पुग्ने बताउनुभयो ।

वरिष्ट कलाकार गोपाल श्रेष्ठले मन्तव्य व्यक्त गर्नुहुदै अन्तर्राष्ट्रिय खेलकुद दिवसमा अत्यन्तै सान्दर्भिक चित्रकला प्रतियोगिताको माध्यमबाट खेलकुदको महत्व प्रस्तुत गर्न खोजेकोमा आयोजक भूपू खेलाडी मञ्च धन्यवाद व्यक्त गर्नुभयो । प्रतियोगिताले कलाकार उत्पादन गर्न प्रोत्साहन गर्ने उहाँको विश्वास थियो ।

स्वागतका साथै प्रतियोगिताबारे जानकारी दिनुहुदै मञ्चका कार्यवाहक अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदले समृद्धि र शान्ति स्थापना गर्न सक्ने सन् २०१३, अप्रील ६ तारेखका दिन संयुक्त राष्ट्र संघले निर्णय गरेकाले उक्त दिनलाई अन्तर्राष्ट्रिय खेलकुद दिवसका रुपमा सदस्य राष्ट्रहरुले मनाउदै आएको बताउनुभयो । समृद्धि र शान्तिका लागि खेलकुद नाराका साथ दिवस मनाउने क्रममा भूपू खेलाडी मञ्चले सन् २०१४ मा बृहत अन्तरक्रिया, सन् २०१५ मा सञ्चारकर्मी र पूर्व खेलाडीहरु विच खेलकुद र यस वर्ष खुल्ला चित्रकला प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।