कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । रामचन्द्र पौडेललाई ७२ मतले पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका हुन् । एक महिना अगाडी भएको १३ औं महाधिवेशनमा पनि पौडेललाई नै पराजित गर्दै देउवा सभापति बनेका थिए ।

बुधबारको निर्वाचनमा कुल २०६ मत खसेको थियो । जसमा देउवाले १३९ मत पाएका छन् भने पौडेलले ६७ मत मात्र पाएका छन् । विरामी भएका कारण नरहरि अचार्य भने मतदानमा सहभागी हुन सकेनन् । अर्का नेता डा. रामशरण महतले भने स्वकीय सचिवमार्फत मत दिएका छन् ।

पार्टी महाधिवेशनमा छुट्टै प्यानल बनाएको कृष्ण सिटौला समूहले दलको नेतामा देउवालाई मत दिएको छ भने पद्म नारायण चौधरीसहितका पौडेल समूहका नेताहरु निर्वाचनको पूर्वसंध्यामा देउवा समूहमा गएका थिए ।