१२ वर्षीया भान्जीलाई बेच्ने,माईजुको प्रयास विफल


चितवन । माइजूले भान्जी बेच्न भारत पुर्याउँछिन् भन्दा तपाईंलाई अच्चम्म लाग्ला तर, चितवनमा यस्तै घटना भएको छ । चितवनको काउले गाविसकी १२ वर्षीया शर्मिला चेपाङलाई आफ्नै माइजू विष्णुमाया श्रेष्ठ र उनका दाजु चन्दबहादुर मिलेर भारतमा बेच्नका लागि महेन्द्रनगरसम्म पुर्याए ।

चितवनबाट गोर्खा पुर्याएर पुनःनारायणगढ हुँदै भारतीय नाका महेन्द्रनगरको गड्डा चौकी पुगेपछि माइती नेपालको सहयोगमा प्रहरीले किशोरीको उद्धार गरेको छ ।
चितवनको विकट पहाडी क्षेत्र काउलेमा बस्दै आएकी किशोरीको सिमानाबाट उद्धार गरेपछि यस्तो रहस्य खुलेको हो । बुबा दिलबहादुर चेपाङका साथमा बस्दै आएकी शर्मिलासँग तीन दिदी बहिनी र एक भाइ छन् ।

गोर्खा जिल्ला बुङ्कोटकी विष्णुमाया श्रेष्ठको शर्मिलाको मामासँग विवाह भएको थियो । माइजू र भान्जीको सम्बन्ध निकै नजिक थियो । एक दिन माइजूले भान्जी शर्मिलालाई आफ्नो दाजुसँग विवाहको प्रस्ताव राखिन् ।

माइजूले अनेक कुराको प्रलोभनमा पार्दै विवाह गर्न दबाब दिएपछि विवाहित चन्द्रबहादुरसँग विवाह भएको थियो । गत चैत १७ गते बिहानै उनलाई लिएर माइजू र चन्द्रबहादुर गोर्खा गएका थिए । गोर्खा पुगेपछि भारत जाने, उतै जागिर खाने भन्ने योजना चन्द्रबहादुरले बुने । बाह्र वर्षीया शर्मिलाले सबै कुरा सहजै पत्याइन् ।

चैत १७ गते बिहानै चन्द्रबहादुर र शर्मिला गोर्खाबाट नारायणगढ आए । साँझ महेन्द्रनगरका लागि बस चढेर हिडेपछि चन्द्रबहादुरले आफूलाई बाटोमा बोल्ने कुरा सिकाएको पीडित शर्मिलाले आज पत्रकारलाई बताइन् । केही ठाउँमा भएको जाँचमा बहिनी भएको बताउन आग्रहसमेत गरेकोे बताइन् ।

चैत १८ गते भारत जान लागेकाबेला भेटेपछि माइती नेपालमा आबद्ध महिलाले बाटोमा रोकेर सोधेपछि उनी बेचिन लागेको थाहा पाएकाले फर्काएको माइती नेपाल चितवनका क्षेत्रीय संयोजक युवराज दबाडीले बताए।

माइती नेपालमार्फत महेन्द्रनगर प्रहरीमा आएकी उनलाई मिलापत्र गर्ने काम भएकाले न्याय नपाएको भन्दै पुनः पीडित परिवार चितवन जिल्ला प्रहरी कार्यालय आइपुगेको छ । शर्मिला काकी दिलु चेपाङले कञ्चनपुरमा प्रहरीबाटै न्याय नपाएकाले पुनःचितवनमा आएर न्याय खोज्न थालेको पत्रकारलाई बताए ।

आज माइती नेपाल चितवनको सहयोगमा पीडितले माइजू विष्णुमाया र विष्णुमायाका दाजु चन्द्रबहादुरविरुद्ध किटानी जाहेरी दिन लागेको माइती नेपालका संयोजक युवराज दबाडीले बताए । रासस