च्याम्पियन्स लिग क्वाटरफाइनल, पहिलो लेगमा बार्सिलोना र म्युनिख बिजयी


बार्सिलोना/ डिफेन्डिङ च्याम्पियन बार्सिलोना मंगलबार युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बिजयी बनेको छ। स्पेनी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई २-१ ले हराउँदै बिजयी बनेको हो।

क्याम्प नाउमा भएको खेलमा २५ मिनेटमा नै फर्नान्डो टोरेसले गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाए। तर ३५ औ मिनेटमा दोस्रो पहेलो कार्ड पाएका टोरेसले मैदान छाडे पछि १० खेलाडीमा सिमित म्याड्रिड माथि बार्सिलोनाले फाईदा उठायो।

बार्सिलोनाका लागि लुईस स्बारेसले ६३ औ र ७४ औ मिनेटमा गरी दुई गोल गर्न सफल भएका थिए। क्वाटरफाइनलको दोस्रो लेग अर्को साता म्याड्रिडको घरेलु मैदानमा हुँदै छ।

यता क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत  बायर्न म्युनिख बिजयी भएको छ। बेनिफिकालाई म्युनिखले घरेलु मैदानमा १-० ले हराउंदै बिजयी भएको हो। खेलको दुई मिनेटमा नै भिडालले गोल गरेर अग्रता लिए पनि पुरा खेल अबधि भर म्युनिखले गोल थप्न भने सकेन।

पहिलो लेगमा बार्सिलोना र म्युनिख बिजयी भए पनि सेमिफाईनलको यात्रा तय गर्न भने अर्को साता हुने खेलहरु नै निर्णायक हुनेछन्।