पानामा प्रकरणमा मुछिए पछि,आइसल्याण्डका प्रधामन्त्रीले दिए राजिनामा


पानामा प्रकरणमा मुछिए पछि आइसल्याण्डका प्रधामन्त्री सिगमन्दुर गुनलौगसनले आफ्नो पदबाट राजीनामा दिएका छन्। पानामा पेपर्सले ल्याएको पहिलो राजनीतिक हलचलका रुपमा सिगमन्दुरको राजिनामालाई लिईएको छ। सिगमन्दुरले पनि श्रीमतीसँग मिलेर ‘ट्याक्स हेवन’मा कम्पनि खोलेको भेटिएको थियो।

सिगमन्दुर विवादमा परेपछि उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन चर्को दबाब परेको थियो। हिजो नै उनको राजीनामा माग गर्दै दसौं हजारले आइसल्याण्डमा प्रदर्शन गरेका थिए। पानामा पेपर्समा विश्वका केही शक्तिशाली मानिसका ‘अफसोर’ लेनदेन सार्वजनिक भएपछि बिश्वभर हलचल मच्चिएको छ।

सिगमन्दुर र उनकी पत्नीले सन् २००१ मा अफसोर कम्पनी खडा गरेका थिए, जसको आइसल्याण्डका बैंकहरुमा ‘बोन्ड’ थियो। यसको अर्थ हो, सिगमन्दुर र उनकी पत्नीले आइसल्याण्डका बैंकलाइ ‘ऋण’ दिएका हुन्। २००८ को आर्थिक मन्दीमा परेको आइसल्याण्डका केही बैंकहरु डुबे र बन्द भए। २००९ मा सिगमन्दुर आइसल्याण्डमा प्रोग्रेसिभ पार्टीको अध्यक्ष बने र संसदमा निर्वाचित भए।

तात्कालीन कानुनअनुसार आइसल्याण्ड संसद सदस्यले कुनै पनि कम्पनीमा आफ्नो २५ प्रतिशतभन्दा बढी सेयर भए सार्वजनिक गर्नुपर्ने थियो। त्यस समय उनी र उनकी श्रीमतीको विन्ट्रीश नामको अफसोर कम्पनीमा ५०-५० प्रतिशत सेयर भए पनि उनले त्यसलाई सार्वजनिक गरेनन्, बरु उनले तुरन्तै अफसोर कम्पनीको आफ्नो पनि सेयर केवल १ डलरमा नै श्रीमतीलाई बेचिदिए।

सन् २००८ को वित्तीय संकटपश्चात आइसल्याण्डले आफ्नो देशलाई दिएको ऋण कसैले बाहिर लगे ३९ प्रतिशत ‘स्थिर कर’ लगाएको थियो। २०१५ मा आएर सिगमन्दुर नेतृत्वको सरकारले उक्त कर हटायो l यसबाट राज्यले दुई अर्ब युरो गुमायो र फाइदा पाउनेमा उनकी श्रीमतीको विन्ट्रीश कम्पनी पनि रह्यो l यसबाट ‘कन्फ्लीक्ट अफ इन्ट्रेस्ट’ भएको विपक्षीहरुको दाबी छ l

यो पनि पढ्नुहोस् :-पानामा पेपरमा मुछिएका मेस्सीलाई, करियरमा असर गर्ला ?