पानामा पेपरमा मुछिएका मेस्सीलाई, करियरमा असर गर्ला ?


उनका बुबाले भनेका छन्, यो सब झूटो हो । तर, पानामा पेपरका कारण फुटबलर लिओनल मेस्सीको नाम एकपछि अर्का न्यूज स्टोरीमा आएको छ । जर्मनीमा रहेको सुडडोइचे चाइटुङले पानामाको मोसाक फोन्सेकाको १ करोड १० लाख गोप्य दस्तावेजहरु हात पार्‍यो, जसलाई पानामा पेपर नाम दिएर सार्वजनिक गरिएको छ ।

यसले विश्वका धनी र शक्तिशाली मानिसहरुले कसरी फोन्सेकाको माध्यमबाट कालो धनलाई बैध बनाउँछन् र अफसोर कम्पनीहरु खुल्छन् भनेर देखाएको छ ।
पाँच पटकका फिफा बालोन डि’ओर विजेता मेस्सी यसमा किन मुछिए त ?
पानामा पेपरको डाटा पाएको एउटा पत्रिका हो अर्जेन्टिनाको ला नाशन । मेस्सी र उनका बुबा जर्ज अफसोर कम्पनी मेगा स्टार इन्टरप्राइजेजको मालिक भएको उसले छापेको छ ।

समाचारमा जनाइए अनुसार यो कम्पनी २०१३ जुन १३ मा आयो, जसको एक दिनपछि स्पेनमा मेस्सीविरुद्ध कल छलीको मुद्धा दर्ता भएको थियो । कुनै गैरकानुनी काम भएको छ भन्ने निष्कर्षमा पुग्नु अहिले हतारो हुन्छ । पानामा पेपरमा मेस्सीको नाम मुछिएपछि स्पेनिस अधिकारीले छानविन सुरु भएको बताइसकेका छन् ।

आईसीआईजेको रिपोर्टका अनुसार ‘ट्याक्स हेभन’मा कुनै कम्पनी खोल्नु अपराध होइन । तर, मनी लाउण्डरिङ (कालो धनलाई बैध बनाउनु) वा कर छल्न त्यो कम्पनीलाई प्रयोग गर्नु भने अपराध हो ।

जर्ज मेस्सीले मेगा स्टार इन्टरप्राइजेज कम्पनी भएको स्वीकार गरेका छन् । तर, कुनै गैरकानुनी काम गरेको आरोप भने झूटो भएको उनले दाबी गरे । साथै उनले समाचार प्रकाशित गर्ने मिडियाविरुद्ध कानुनी मुद्धा लड्ने बताएका छन् ।

मेस्सी परिवारले सोमबार जारी गरेको वक्तव्यमा लिओनल मेस्सीमाथि लागेको आरोप अस्वीकार गरिएको छ । मेस्सीको नाममा भएको भनिएको कम्पनी निष्कृय हरेको र उक्त कम्पनीको नाममा बैंक अकाउन्ट समेत नभएको उनीहरुले बताएका छन् ।

के मेस्सी अहिले पनि कर छलीको मुद्दा खेपिरहेका छन् ?

हो, मेस्सी र उनका बुबा कर छालीको मुद्दामा आगामी मे ३१ मा स्पेनिस अदालतमा उपस्थित हुँदैछन् । उनीहरुमाथि २००७ लेखि ९ को बीचमा ४१ लाख युरो कल छली गरेको अभियोग लागेको छ ।

अभियोजनकर्ताले दाबी गरेका छन् कि यो सबै काम उनका बाबुले गरेका हुन् र मेस्सी पूर्ण जानकार थिएनन् । तर, जति थाहा थियो, त्यस आधारमा मेस्सीलाई कारबाही हुन सक्छ । अर्जेन्टिनी पत्रिका ला नेशनले पनि मेगा स्टारको पूर्ण स्वामित्व जर्ज मेस्सीमाथि रहेको बताएको छ ।

यसले मेस्सीको करियरमा के असर गर्छ ?

मेस्सीले अपराध गरेका छन् र यसमा उनलाई सजाय हुन्छ भन्नु हतारो हुन्छ । अहिले चलिरहेको कर छलीको मुद्दामा मेस्सी दोषी ठहर भएको अवस्थामा २२ महिनासम्म जेल सजाय हुनसक्छ । बार्सिलोनाले सोमबार विज्ञप्ति जारी गरेर मेस्सीलाई पूर्ण समर्थन रहेको बताएको छ ।

मार्काबाट अनुवादित