बन्ने भो पोखरामा अन्तराष्ट्रिय विमानस्थल,नयाँ बर्षमा शिलान्यास गरिदै


सन्देश श्रेष्ठ
बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास बैशाख १ गते प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएपछि निर्माण कार्य सुरु गर्न लागिएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले शिलन्यासको मिती तोकेको हो । समितिको बिहीबार बसेको बैठकले सांसद रवीन्द्र अधिकारीको संयोजकत्वमा शिलान्यास मुल समारोह समिति बनाउने निर्माण गरेको छ ।
बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राख्ने प्रस्ताव सरकारसँग गर्ने निर्माण गरेको अधिकारीले जानकारी दिए । बैठकले विमानस्थल निर्माणमा पहल गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।
विमानस्थल शिलान्यास कार्यक्रमलाई भव्य बनाउन प्रमुख राजनीतिक दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री लगायतका उच्च अधिकारीलाई बोलाउने तयारी भएको समितिका संयोजक अधिकारीले जानकारी दिए ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले विमानस्थल निर्माण गर्दा स्थानीयवासीलाई पर्ने समस्यालाई सम्बोधन गरिने बताए । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रदेश नम्बर ४ एकजुट भएर लागेकोले सम्भव भएको हो’ मन्त्री पोखरेलले भने- ‘विमानस्थल निर्माणको प्रक्रियामा पनि सबैको साथ र सहयोग आवश्यक छ, यो विमानस्थल प्रदेश नम्बर ४ को आर्थिक विकासको इञ्जिन पनि हो ।’Pokhara-airprot-nirmanराष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले विमानस्थल बनाउनु मात्र ठूलो कुरा नभएको बताउँदै यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नु महत्वपूर्ण हुने बताए । उनले विमानस्थल निर्माणसँगै प्रदेश चारको विकासको लागि प्याकेजमै योजना बनाइएको बताए ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक महेन्द्रसिंह रावलले विमानस्थल निर्माणपछि यसलाई सञ्चालन गर्ने जनशक्ति तयार गर्न अहिलेबाट नै गृहकार्य आवश्यक भएको बताए । उनले विमानस्थललाई कुन मोडालिटीमा सञ्चालन गर्ने त्यसबारे पनि तयारी गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

स्थानीयवासी तथा पोखरा उपमहानगर पालिकाका पूर्व मेयर भिमसेन थापाले विमानस्थल निर्माणसँगै स्थानीय जनताको मागलाई पनि सम्बोधन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री केपी ओलीको भर्खरै सम्पन्न चीन भ्रमणका क्रममा विमानस्थलका लागि चीन सरकारसँग ऋण सम्झौता भएको थियो । उक्त सम्झौतासँगै विमानस्थल निर्माणको ढोका खुलेपछि निर्माण प्रक्रिया अघि बढ्न लागेको हो । विमानस्थलका लागि चीनको एक्जिम बैंकबाट साढे २१ अर्ब रुपैयाँ ऋण उपलब्ध हुनेछ ।

यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ । अनुदान वाहेकको रकमको नेपालले वाषिर्क २ प्रतिशत ब्याज तिर्नुपर्छ । तर यो ब्याज आगामी सात वर्षपछि सुरु हुनेछ । आगामी चार वर्षमा निर्माण सक्ने र पाँच वर्षभित्र विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइसक्ने योजना छ । विमानस्थल सञ्चालनमा आइसकेपछि मात्रै नेपालले ब्याज तिर्नुपर्छ ।

विमानस्थल बनाउन २ वर्षअघि नै चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको थियो । चारदशक अघि पोखरा-१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो ।

अधिग्रहण गरिएको जग्गाले नपुगेपछि थप ६ सय २९ रोपनी जग्गा चाहिने भन्दै रोक्का गरिएको थियो । तर, रोक्का गरिएकोमध्ये करिब ५० रोपनी जग्गा आवश्यक नपर्ने र केही जग्गा बाटोमा पर्ने भएकोले रोक्का भएजति जग्गाको मुआब्जा दिनुनपर्ने विमानस्थल निर्माण आयोजनाका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले बताए । उनका अनुसार मुआब्जा वितरणको काम ९० प्रतिशत सकिएको छ ।